काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताका बाबजुद पनि मार्जिक प्रकृति (सेयर लोन) र घर–जग्गा कारोबामा कर्जा प्रवाहमा उत्साहजनक देखिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो महिना असारको तुलनामा साउनमा यी दुवै खाले कर्जा प्रवाह घटेको छ। 

साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट ३ अर्ब ६५ करोड रुपैयाँ सेयर लोन प्रवाह भएको छ। असारमा यस्तो लोन ३ अर्ब ६९ करोड रुपैयाँ प्रवाह भएको थियो। अघिल्लोको महिनाको तुलनामा साउनमा ०.९७ प्रतिशतले यस्तो कर्जा घटेको छ। 

यसैगरी असारको तुलनामामा साउनमा घर–जग्गामा हुने कर्जा प्रवाह पनि १.४३ प्रतिशतले घटेको छ। गत असारमा घर–जग्गामा बैंकहरुबाट ९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा साउनमा घटेर ९ अर्ब ६० करोड रुपैयाँमा सीमित बनेको छ। 

उता हायर पर्चेज कर्जा प्रवाह पनि साउनमा घटेर ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित बनेको छ। असारमा यस्तो कर्जा प्रवाह ३ अर्ब ६० करोड रुपैयाँ थियो। 

आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भने साउनमा बढेर ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो महिना असारमा यस्तो कर्जा ११ अर्ब ७४ करोड रुपैयाँ थियो। 

असारको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह पनि १६ अर्ब रुपैयाँले घटेको छ। गत असारमा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा साउनमा घटेर ४८ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ। 

साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब १२ अर्ब रुपैयाँ थियो। असारसम्म कुल निक्षेप ५७ खर्ब ७१ अर्ब रुपैयाँ थियो। असारको तुलनामा साउनमा बैंकहरुको निक्षेप २.७५ प्रतिशतले घटेको छ। 

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ। ‘यसबाट बैंकहरुको कर्जा प्रवाह क्षमता सहज नै मान्न सकिन्छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तर, विगतमा प्रवाह कर्जा उठाउन बैंकहरुलाई समस्या भइरहेकोले पनि अहिले कर्जा प्रवाहले गति लिन नसकेको हुन सक्छ।’