बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले ऋणिहरुको ब्याजदर घटाएको छ । 

बैंकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको असरबाट आफ्न ऋणी ग्राहकहरुलाई पर्न गएको आर्थिक भारलाई महसुस गरी केही हदसम्म राहात दिने उद्देश्यले ब्याजदर घटाइएको बताएको छ । 

विकास बैंकले यसभन्दा अगाडि नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी भएको परिपत्रअनुसार २०७६ चैत्रमा ब्याज भुक्तानी गरेका ऋणीहरुको ब्याजमा दिनुपर्ने १० प्रतिशत छुट र २०७७ बैशाख १ देखि आषाढ मसान्तसम्मको ३ महिनामा तोकिएका क्षेत्रबाहेकका ऋणीहरुलाई ब्याजदरमा दिनुपर्ने २ प्रतिशतले हुने रकम रु. ४ करोड २० लाख जति छुट प्रदान गरिसकेको बताइएको छ । 

यसरी बैंकले विश्वब्यापी रुपमा विगत ६ महिनादेखि आफ्नो पेशा र ब्यवसायहरु निरन्तर रुपमा चल्न नपाई आर्थिक भारमा परेका आफ्ना ऋणी ग्राहकहरुमध्ये असल बर्गमा परेका सम्पूर्ण ऋणीहरुको ब्याजदरमा पुनः २.२५ प्रतिशतसम्मले ब्याजदर घटाई सहुलियत प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिए ।

बुटवल ४ पाल्पारोडमा केन्द्रीयकार्यालय रहेको विकास बैंकले हाल ७ वटा जिल्लाका विभिन्न ग्रामीण एवम् शहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्गको साथसाथै लघुवित्तको माध्यमबाट समेत विभिन्न सेवा र सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।