– रेखा चन्द

काठमाण्डौ । तिहार नजिकिएसँगै काठमाण्डौको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बिहीबार असर्फी किन्नेको भीड लागेको छ। 

पर्सि शनिबार धन्तेरस परेकोले पनि आज बिहानैदेखि सुन र चाँदीको असर्फी खरिद गर्ने सर्वसाधाणहरुको भीड बढेको विभागका प्रमुख विनोदराज आचार्य बताउँछन्। ‘विभागबाट नियमित नै बिक्री हुन्छ। तर, तिहारमा सुन–चाँदी तथा बहुमूल्य धातुु जोड्दा समृद्धि हुने धार्मिक मान्यता रहिआएकाले यतिबेला बढी बिक्री हुन्छ। असर्फी किन्नेको भीड हिजोअस्ति पनि थियो तर त्यो तुुलनामा आजदेखि भीड बढेको छ’, उनले भने।

विभागसँग अहिले १० हजार सुनका सिक्का र २० हजार चाँदीका सिक्का मौज्दात छन्। पहिलेको तुलनामा असर्फी किन्नेको भीड बढे पनि माग धान्न सक्ने असर्फी रहेको आचार्य बताउँछन्। ‘यस वर्ष माग पनि बढेको छ, त्यहीअनुसार हामीले तयारी गरेको छौँ’, उनी भन्छन्, ‘मागअनुुसार सबैले पाउँछन्।’

धन्तेरसको दिनसम्म ६ हजार सुुनका असर्फी वा केही बढी पनि बिक्री हुन सक्ने आचार्यको अनुमान छ। सुुनको तुुलनामा चाँदीका सिक्का अझै बढी बिक्री हुने र सर्वसाधाणले गरेको मागअनुसार पाउनेछन्। 

विभागले १० ग्राम, २.५ ग्राम र ५ ग्रामका सुनको असर्फी बिक्रीवितरण गरिरहेको छ। चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको छ। 

आज १० ग्रामको सुनको असर्फी ८२ हजार ९०२ रुपैयाँ, ५ ग्रामको ४१ हजार ४५१ रुपैयाँ र २.५ ग्रामको २० हजार ७२६ रुपैयाँ पर्ने विभागले जनाएको छ।

यता चाँदीको १० ग्रामको असर्फीको मूल्य भने १ हजार ६०० रुपैयाँ तोकिएको छ। सुन र चाँदीको असर्फीको मूल्य बजार भाउअनुुसार दैनिकमा तलमाथि हुनेछ। 

हाल विभागले सुन र चाँदीका असर्फी बबरमहलबाट मात्रै बिक्रीवितरण गरिरहेको छ।