काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोप र चीनमा मन्दी आउने संकेत गरेकी छन्। 

जर्मिएभाले सन् २०२३ विश्वव्यापी वृद्धिका हिसाबले कठिन हुने पनि बताइन्। ‘अमेरिका, युरोप र चीनको आर्थिक गतिविधि कमजोर हुने देखिन्छ’, उनले आइतबार सीबीएसको समाचार कार्यक्रम ‘फेस द नेसन’मा भनिन्, ‘नयाँ वर्ष हामीले पछाडि छोडेको वर्षभन्दा कठिन हुने छ। किनकि तीनवटै ठूला अर्थतन्त्र अमेरिका, युरोपेली युनियन र चीन एकसाथ सुस्त गतिमा अघि बढिरहेका छन्।’

अक्टोबर २०२२ मा आईएमएफले २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिको दृष्टिकोण कटौती गरेको थियो। रुस–युक्रेन युद्धबीच चलिरहेको युद्ध, बढ्दो मुद्रास्फीतिको दबाब र अमेरिकी फेडरल रिजर्भ बैंकजस्ता केन्द्रीय बैंकको ब्याजदर वृद्धिका कारण दबाब बढेको हो।

चीनमा कोभिडका कारण फेरि एकपटक अवस्था बिग्रिएको छ। चीनले आफ्नो अर्थतन्त्र पुनः खोल्न थालेको छ तर कोभिडका बढ्दो केसहरुले समस्या बढाउँदैछ। चीनले आफ्नो शून्य कोभिड नीति परिवर्तन गरेको छ। नीति परिवर्तनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबार नयाँ वर्षको सम्बोधनमा थप प्रयास र एकताका लागि आह्वान गरेका छन्।

यसबाहेक कोभिडको बढ्दो मामिलाले आगामी महिनामा चीनको वृद्धिलाई थप असर गर्ने जर्भिएभाले बताइन्। ‘४० वर्षमा पहिलोपटक २०२२ मा चीनको वृद्धि विश्वव्यापी वृद्धिको बराबर वा कम हुन सक्छ’, उनले भनिन्, ‘म गत हप्ता चीनको एउटा सहरमा बायोबबलमा थिएँ। त्यहाँ कोभिडका शून्य मामिला थिए तर मानिसहरुले यात्रा सुरु गरेपछि स्थिति परिवर्तन हुनेछ।’

जर्भिएभाले आगामी केही महिना चीनका लागि कठिन हुने बताइन्। ‘यसले चीनको वृद्धिमा नकारात्मक प्रभाव पार्नेछ र साथसाथै विश्वव्यापी वृद्धि पनि प्रभावित हुनेछ’, उनले भनिन्।

जर्भिएभाले अमेरिकी अर्थतन्त्रले विश्वको एक तिहाइ अर्थतन्त्रलाई प्रभाव पार्न सक्ने बताइन्। उनले भनिन्, ‘अमेरिका सबैभन्दा लचिलो छ। यसले मन्दीबाट बच्न सक्छ। किनकि अमेरिकाको श्रम बजार धेरै बलियो छ।’

यद्यपि, ब्याजदरमा फेडरल रिजर्भको आक्रामक अडानले जोखिमको संकेत देखिएको जर्भिएभाले बताइन्। ‘जसका कारण अमेरिकाको विकासमा बाधा पुग्न सक्छ’, उनले भनिन्, ‘सन् २०२२ को अन्त्य हुनेबित्तिकै मुद्रास्फीतिले चरम सीमा पार गर्ने संकेत देखाएको छ। मुद्रास्फीति घटाउन फेडले ब्याजदरलाई लामो समयसम्म कडाइ गर्न सक्छ।’ –एजेन्सी