काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क सम्पत्तिमात्र नभएर अन्य धेरै कारणले लगातार चर्चामा रहन्छन्। ट्विटरको कमान्ड हातमा लिएर माथिदेखि तल्लो तहसम्मका कर्मचारी कटौती गरेका मस्कले सायद आफ्नो गल्ती महसुस गर्न थालेका छन्। 

एक रिपोर्टका अनुसार ट्विटरले बर्खास्त गरिएका केही कर्मचारीलाई काममा फर्किन अनुरोध गरेको छ।

ट्विटरमा आउनेबित्तिकै मस्कले भारतीय मूलका सीईओ पराग अग्रवालसहित तीन शीर्ष अधिकारीलाई हटाए र त्यसपछि एकपछि अर्को काम गरे। कम्पनीको पूरै बोर्ड बर्खास्त गरेपछि उनले गत शुक्रबार करिब ३ हजार ७०० कर्मचारीलाई बर्खास्त गरेका थिए। यति ठूलो संख्यामा कर्मचारीलाई कामबाट निकालेपछि अब उनले आफ्नो गल्ती महसुस गर्दै यू–टर्न लिएका छन्।

बिजनेश स्ट्यान्डर्डको रिपोर्टका अनुसार मस्कले ट्विटरबाट निकालिएका केही कर्मचारीलाई काममा फर्किन अपिल गरेका छन्। कम्पनीले बर्खास्त गरिएका कर्मचारीलाई ‘प्लिज कम ब्याक’ भनेर अनुरोध गरे पनि मस्कले कति कर्मचारीलाई काममा फर्किन भनेका छन् भन्ने कुरा भने रिपोर्टमा खुलाइएको छैन। 

यसअघि कम्पनीका पूर्वमालिक ज्याक डोर्सीले पनि ट्विटरमा यति धेरै कर्मचारी कटौतीका बारेमा चिन्ता व्यक्त गरेका थिए। –एजेन्सी