काठमाण्डौ । सन् २०२३ मा अमेरिकी कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ ।

ओपेक बाहिर भएको रेकर्डतोड उत्पादनका कारण आपूर्ती बढ्ने भयका कारण यस वर्ष अमेरिकी कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको हो । 

सन् २०२० यता वार्षिक रुपमा तेलको मूल्य घटेको यो पहिलोपटक हो ।

यस वर्ष डब्लुटीआई को मूल्यमा १०.७३ प्रतिशत र ब्रेन्ट क्रुडको मूल्यमा १०.३२ प्रतिशतको गिरावट आएको छ ।

यस वर्षको अन्तिम कारोबार दिन डब्लुटीआई क्रुड ०.१७ प्रतिशतले घट्दै प्रति ब्यारेल ७१.६५ डलर पुगेको छ । त्यस्तै ब्रेन्ट क्रुड पनि ०.१४ प्रतिशतले घट्दै प्रतिब्यारेल ७७.०४ डलर पुगेको छ । 

गत सेप्टेम्बर महिनामा यस वर्षकै उच्च बिन्दु प्रतिब्यारेल ९० डलर पुगेको अमेरिकी तेलको मूल्य त्यसयता २० प्रतिशतले घटेको छ । यो वर्ष तेलको मूल्यमा व्यापक उतारचढाव आयो ।   

गैर ओपेक राष्ट्रहरुले तेलको उत्पादन बढाएसँगै यस वर्ष तेलको मूल्य बढाउने ओपेक प्लस समूहको प्रयास विफल भएको छ । यस वर्ष अमेरिकाले रेकर्डतोड उत्पादन गरेको छ । यसका साथै ब्राजिल,नर्वे र क्यानडाले पनि उत्पादन वृद्धि गरेका छन् । 

तेलको आपूर्ती मध्य–पूर्वबाट अमेरिका र अन्य एटलान्टिक देशहरुमा सरेसँगै विश्वको तेल व्यापार प्रभावित बन्न थालेको छ । ओपेक बाहिर अमेरिकाले सबैभन्दा धेरै तेल आपूर्ती गर्छ । ओपेक बाहेकका देशहरुमध्ये अमेरिका दुई तिहाई तेल आपूर्ती वृद्धिका लागि जिम्मेवार छ । अमेरिकाको बढ्दो आपूर्तीका कारण मध्य पूर्वले आफ्नो बजार हिस्सा जोगाउन र तेलको मूल्य बढाउन असफल भएको देखिन्छ ।