काठमाण्डौ । उपत्यकामा रहेका सबै बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार नयाँ आदेश जारी गर्दै यस्तो व्यवस्था गरेका हुन् । 

उनले जारी गरेको आदेशमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने भनिएको छ । 

काठमाण्डौलगत्तै जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले समेत सोही प्रकृतिको आदेश जारी गरेका छन् । 

हालसम्म आलोपालो प्रणालीअनुसार न्यूनतम जनशक्ति परिचालन गरेर संचालन भइरहेका बीमा कम्पनीहरुले अबको निषेधाज्ञामा सबै सेवा स्थगन गर्नुपर्ने भएको हो ? भनी हामीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईलाई सोधेका थियौं । उनले बीमा सेवा अत्यावश्यक सेवाभित्र नपरेकोले थपिएको निषेधाज्ञा अवधिमा त्यस्ता कम्पनीको कुनै पनि कार्यालय संचालन गर्न रोक लगाइएको पुष्टि गरे ।

'जेठ १४ गतेदेखि २० गतेसम्म र त्यसपछि पनि निषेधाज्ञाको अवधि थप भएमा बीमा कम्पनीका मुख्य कार्यालयदेखि शाखा वा उपशाखा कुनै पनि कार्यालय संचालन गर्न पाइनेछैन ।' उनले बिजशालासँग भने-'यो अवधिमा बीमा गतिविधि पूर्ण रुपमा बन्द हुनेछ ।'