काठमाण्डौ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरुले थप अधिकतम १ हजार ५०० डलर सटही सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यो सुविधा प्रदान गरेको छ। यसअघि नेपाल सरकारको निकायबाट श्रम स्वीकृति लिई वैज्ञानिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम २०० डलरसम्म मात्र सटही सुविधा पाउँथे। 

अब भने वैदेशिक रोजगार विभागको सिफारिसपत्रसमेतका आधारमा दक्षिण कोरिया जाने नेपाली कामदारले थप अधिकतम १ हजार ५०० डलर सटही सुविधा विद्युतीय माध्यमबाट उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। त्यसका लागि नेपाली कामदारले कोभिड–१९ का कारण त्यहाँ क्वारेन्टिन खर्च लाग्ने व्यहोरा खुल्ने सिफारिसपत्र वैदेशिक रोजगार विभागमा ल्याउनुपर्नेछ।