काठमाण्डौ । घरेलु दुर्व्यवहारको दाबीले भारतीय टाइकुन गौतम सिंघानिया र उनको कम्पनीहरुको भविष्य खतरामा परेको छ ।
सञ्चारमाध्यमहरुले भारतीय कपडा व्यवसायी गौतम सिंघानिया र उनकी श्रीमती नवाज मोदीबीचको उच्च प्रोफाइल सम्बन्धविच्छेदले उनलाई आफ्नो १.४ बिलियन डलर सम्पत्तिको ७५ प्रतिशत गुमाउन सक्ने बताएका छन् ।
रेमण्ड ग्रूपका प्रबन्ध निर्देशक तथा अध्यक्ष सिंघानियाको सम्बन्धविच्छेदको विवाद अहिले चर्चामा छ । गत नोभेम्बरमा दिपावलीको दिन आयोजित पार्टीमा श्रीमती मोदीलाई प्रवेश गर्न नदिएको भिडियो भाइरल भएपछि दम्पतीबीचको घरझगडा पहिलोपटक प्रकाशमा आएको थियो ।त्यसपछि उनले लगभग १०० वर्ष पुरानो रेमण्ड समूहका सदस्यबाट आफू र नाबालिग छोरीमाथि शारीरिक आक्रमण गरेको त्रासदीपूर्ण आरोप लगाएकी छिन्।
उनले सम्बन्धविच्छेदको सट्टामा सम्पत्तिमा ७५ प्रतिशत हिस्सा पनि माग्दै आएकि छन् । उनी आफैं पनि वकिल हुन् ।उनका बुबा पनि वरिष्ठ अधिवक्ता हुन् । एक वरिष्ठ कर्पोरेट वकिलका अनुसार यो मुद्दा छिट्टै समाधान हुने सम्भावना छैन किनकि कम्पनीमा सिंघानियाको मात्रै ४९ प्रतिशत सेयर स्वामित्व छ।
रेमन्ड भारतको सबैभन्दा प्रसिद्ध उपभोक्ता ब्रान्डहरू मध्ये एक हो। भारतीय सेयर बजारमा सूचीकृत रेमन्ड कम्पनीमा सिंघानिया र मोदी संस्थापक सेयरधनी छन् । सम्बन्ध विच्छेदको घोषणापछि कम्पनीको सेयर निरन्तर ओरालो यात्रामा छ ।
कम्पनीको सेयर १२ प्रतिशतले घटिसकेको छ । लगानीकर्ता र सेयरधनीहरुले कम्पनीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन्। कम्पनीको बजार पूँजीकरण पनि १ हजार ५०० करोड भारुले घटिसकेको छ ।
यस सम्बन्धविच्छेदको विवादले सिंघानिया परिवार मात्र होइन कम्पनीको छविमा ठूलो धक्का पुर्याएको छ, जसको असर कम्पनीको सेयरमा देखापर्न थालिसकेको छ । हुन त उनीहरु बीचको यो प्रकरणलाई लिएर आरोपप्रत्यारोप मात्र होइन, हरेक दिन नयाँ खुलासा भइरहेका छन् ।
श्रीमती नवाज मोदी सिंघानियाले आफ्ना पतिमाथि दुर्व्यवहारको आरोप लगाएपछि अहिले रेमण्डका संस्थापक तथा ससुरा विजयपत सिंघानियाले पनि धेरै तथ्य खुलासा गरेका छन् ।सानो कम्बल उत्पादन गर्ने कम्पनीलाई रेमण्ड जस्तो ब्रान्ड बनाएका विजयपति सिंघानियाले छोराको बारेमा ठूलो खुलासा गरे । उनले एउटा अन्तरवार्तामा छोराको बारेमा भनेका कुराहरू सुन्दा तपाई पनि आश्चर्य चकित हुनुहुनेछ ।
उनको भनाइ अनुसार छोरा गौतम एकदमै क्रोधित र घमण्डी व्यक्ति हुन्। साथै उनले आफ्नो विरासत छोरालाई सुम्पेकोमा खेद व्यक्त गर्दै रेमण्डको कमाण्ड सुम्पिनु जीवनमा सबैभन्दा ठूलो गल्ती गरेको बताए । उनले सन् २०१५ मा रेमण्डको नेतृत्व दिएपछि गौतमले उनलाई सन् २०१७ मा कम्पनी र घर दुवैबाट निकालिदिएका थिए । उनले सबै कुरा छोरालाई सुम्पेर मुर्खतापूर्ण गल्ती गरेको पनि बताए ।
अन्तरवार्तामा उनको पीडा निकै कारुणिक छ ।
उनले भने, ‘मैले सबै कुरा छोरालाई सुम्पें तर आज मसँग केहि छैन । मैले उसलाई सबै कुरा दिनु नै मूर्खता थियो। मसँग केहि पैसा बाँकी थियो, जसबाट म अहिले गुजारा चलाउँदैछु। नत्र म सडकमा हुने थिएँ ।’ उनले भने,‘उसले आफ्नी श्रीमतीलाई त यसरी घरबाट निकाल्न सक्छ भने, म बुढो मान्छे त के हो र ।’
साथै उनले आफ्नो छोराको खराब स्वभाव र आमाबाबुप्रतिको दुर्व्यवहारको बारेमा पनि कुरा गरेका छन्। छोराछोरीलाई सबैथोक दिने अभिभावकले पहिले राम्ररी सोच्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जिउँदै हुँदा छोराछोरीलाई सबै कुरा दिन नहुने रहेछ, मैले बनाएको घर, स्थापना गरेको कम्पनी सबै खोस्यो ।’
सबै सम्पत्ति आफ्नो सन्तानलाई हस्तान्तरण गर्नेले ठूलो मूल्य चुकाउनु पर्ने उनको भनाइ छ । उनी अहिले छोरासँग नभएर बुहारी नवाजसँग बस्छन् । उनले आफूले गौतम र नवाजको मुद्दामा हस्तक्षेप गर्न नचाहेको पनि बताए ।
बीबीसीले अन्तरवार्ताको लागि अनुरोध गर्दा मोदीले भनेकि छन्, ‘मैले मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा मिडियामा आएका रिपोर्टहरूमा टिप्पणी गर्न चाहन्न किनकि परिवारको गरिमा कायम राख्नु मेरो लागि सर्वोपरि हो।’ -एजेन्सीहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19