काठमाण्डौ । लामो समयसम्म लगानीकर्ताको लगानीलाई बन्धक बनाएको मेगा बैंक लिमीटेडले मंगलबार(आज)देखि ६५ प्रतिशत हकप्रद निश्कासन गरेको छ । 

अन्य बैंकले दशैं अगाडि खर्चको रुपमा बोनस सेयर र नगद लाभांश दिएर लगानीकर्तालाई उत्साहित बनाइरहेको बेला मेगा बैंकले भने हकप्रदको भारी लगानीकर्तालाई जबरजस्ती बोकाउन खोजेको हो । 

मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेपछि यो कम्पनीको सेयर कारोबार निलम्बनमा परेको ७ महिना बढी भइसक्यो । यति लामो अवधिसम्म सेयरधनीको लगानी बन्धक बनाएको बैंकले लगानीकर्ताको दशैं बजेटलाई खलबल्याउने गरी जबरजस्ती हकप्रदको बिक्री खुलाएको हो । 

मेगा बैंकले पूँजीवृद्धिका लागि ६५ प्रतिशत हकप्रदको ठूलो भारी बोकाउनुपर्ने आवश्यकता थिएन । कारण, यो बैंकले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ । टुरिजमसँग मर्जरपछि सहजै ८ अर्ब चुक्तापूँजी पुुग्ने भए पनि बैंकले आफ्ना सेयरधनीलाई जानाजान ‘खाए खा, नखाए घिच्’को पीडा दिएको हो । 

मंगलबारदेखि खुलेको हकप्रद सेयरको बिक्री आगामी असोज ३० गतेसम्म रहनेछ । यो अवधिमा सेयरधनीलाई तोकिएको स्थानमा हकप्रद भर्न भनिएको छ । तर, यो बैंकको धेरै कित्ता सेयरमा आवेदन नै नपर्ने अवस्था देखिन्छ । 

यो बैंकले २०७३ माघ ५ गते हकप्रदका लागि बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ माघ ६ गतेसम्म कायम यो बैंकको सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । तर, लामो समयसम्म लगानीकर्ताप्रति अनुदार देखिएको र अर्काको पैसालाई जबरजस्ती बन्धक बनाउने रबैया प्रदर्शन गरेको यो बैंकमा लगानी गरेर भोलिका दिनमा लगानीकर्ताको हित होला भन्ने अवस्था भने छैन । 

मेगाको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडले गर्नेछ। 

मेगा बैंकले १ सय रुपैयाँ अंकित मूल्यको २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता सेयर निश्कासन गरेको हो । 

हाल मेगा बैंकको चुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ६५ प्रतिशत हकप्रदको भारी लगानीकर्तालाई बोकाएपछि चुक्तापूँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुुग्नेछ । 

माघ ६ गतेको दिन मेगा बैंकको प्रति कित्ता सेयरको मूल्य ४५८ रुपैयाँ रहेको थियो । यो अवधिमा बोनस सेयर, हकप्रद लगायतका कारण मूल्य समायोजन गर्नुपर्नेछ । यसको अर्थ यो बैंकको मूल्य निकै तल झर्नेछ । यहीकारण समेत मेगा बैंकको हकप्रद भर्नु मरिहत्ते गर्नैपर्ने अवस्था भने देखिदैन।