काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेका दुई लघुबीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले दसैँअघि औपचारिक व्यवसाय सुरु गर्ने भएका छन्। 

स्टार माइक्रो इन्स्योरेन्सले निर्जीवन लघुबीमा व्यवसाय गर्न र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले जीवन लघुबीमा व्यवसाय गर्न प्राधिकरणबाट स्वीकृति पाइसकेको छ। 

प्राधिकरणबाट स्वीकृतपश्चात दुवै कम्पनीले दसैँभन्दा अगाडि नै औपचारिक रुपमा व्यवसाय सञ्चालन गर्ने योजना बनाएको छ। स्टार माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्वराम तिमिला र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सीईओमा रामकुमार यादव नियुक्त भएका छन्। 

दुवै कम्पनीका सीईओ नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले भदौ २७ गते स्वीकृति प्रदान गरिसकेको छ। 

स्टार माइक्रो इन्स्योरेन्सका सीईओ तिमिलाले दसैँअघि नै औपचारिक रुपमा उद्घाटन गरी कारोबार सञ्चालन गर्ने बताए। ‘प्राधिकरणबाट निर्जीवन लघु बीमा व्यवसाय गर्न स्वीकृति पाइसकेका छौं, खाली अब औपचारिक रुपमा व्यवसाय सञ्चालन गर्नमात्रै बाँकी हो’ तिमिलाले भने, ‘सम्भवतः दसैँ अगाडि नै औपचारिक कारोबार सुरु गर्नेछौँ।’ 

मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा केन्द्रीय कार्यालय रहने स्टार माइक्रो इन्स्योरेन्सले सो क्षेत्रका दुर्गम बस्तीलाई टार्गेट गरी निर्जीवन लघुबीमा व्यवसाय गर्नेछ। प्राधिकरणले तोकेअनुसार घरबीमा र सम्पत्ति बीमा लगायतका अन्य निर्जीवन बीमा सेवा दिने सीईओ तिमिलाले बताए।  

त्यस्तै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ यादवले पनि दसैँअघि नै औपचारिक रुपमा व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताए। ‘ठ्याक्कै यकिन गरी भन्न त सकिन्न तर दसैँअघि नै व्यवसाय सञ्चालन गर्ने योजना रहेको छ’, यादवले भने, ‘बीमा प्राधिकरणबाट गर्नुपर्ने प्रक्रियाहरु सबै पूरा भइसकेको छ, केवल सञ्चालक समितिबाट अन्तिम पत्रमात्रै पेस हुन बाँकी छ, त्यो भइसकेपछि छिट्टै औपचारिक कारोबार सुरु गर्नेछौँ।’

यसका साथै बीमा प्राधिकरणबाट जारी निर्देशिकाअनुसार कम्पनीले ५ लाख रुपैयाँ बीमांक रकमसम्मको जीवन बीमा पोलिसी बिक्री गर्न पाउनेछ। ‘हाल ५ लाख रुपैयाँसम्मको बीमा गर्नेगरी व्यवसाय थाल्नेछौैँ, प्राधिकरणबाट प्रडक्ट डेभलप गर्ने प्रक्रिया पूरा भइसकेको छ, ठूला कम्पनीले बिक्री गर्ने पोलिसीहरु सबै बिक्री गर्नेछौँ तर ५ लाख रुपैयाँ बीमांक रकमसम्मको मात्रै हुन्छ’, यादवले भने। 

पर्यटकीय नगरी पोखरामा केन्द्रीय कार्यालय रहने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले दुर्गम क्षेत्रलाई केन्द्रित गरी जीवन लघुबीमा व्यवसाय गर्ने सीईओ यादबले बताए। 

प्राधिकरणबाट लघुबीमाको लाइसेन्स प्राप्त गरेका ७ वटा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, प्रोटेक्टिभ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स औपचारिक रुपमा कारोबार थालनी गरिसकेका छन्। 

प्राधिकरणको निर्देशिकाअनुसार लघुबीमा कम्पनीको चुक्तापुँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्नेछ। लघुबीमाको लाइसेन्स पाएको ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने पुँजी पुर्याउन नसकेका कारण औपचारिक कारोबार थालनी प्रक्रिया अल्झिएको छ।