काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दसैैंपछि मात्रै बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ ।

अभिकर्ता परीक्षा सञ्चालनको लागि प्राधिकरणले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ । प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।  

प्राधिकरणले अभिकर्ताहरु फिल्टर गर्न वा अभिकर्ताको इजाजतपत्रमा कडाई गर्न आफैंले परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

दसैंपछि हुने परीक्षामा सहभागी हुन अभिकर्ताहरुले आफुलाई प्राधिकरणको सिष्टममा दर्ता गराइसकेका छन् । 

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्राधिकरणको आईआरएमआईएस सफ्टवयरमार्फत् गदै आएको बीमा अभिकर्ताको नयाँ लाइसेन्स दर्ता प्रक्रिया भने असोज २५ गतेदेखि नै बन्द भइसकेको छ । 

साथै परीक्षाको लागि प्राधिकरणको सफ्टवयरमा असोज २९ गतेदेखि सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अभिकर्ताहरुलाई सहजता ल्याउने उद्धेष्यले नमूना प्रश्नपत्रसमेत सार्वजनिक गरिसकेको छ । 
 

अभिकर्ता परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेखित पाठ्यक्रमअनुसार अभिकर्ताहरुलाई २५ वटा प्रश्न सोधिने छ । प्रश्नहरु भने वस्तुगत हुनेछन् । प्रत्येक प्रश्नको अंकभार २ हुनेछ । प्राधिकरणका अनुसार कुल अंकभार १०० र उत्तिणांक ५० हुनेछ । यसर्थ अभिकर्ताहरुले लाइसेन्स प्राप्त गर्न अर्थात् परीक्षा उत्तीर्ण गर्न २५ वटा प्रश्न अनिवार्य मिलाउनुपर्नेछ । 

बीमा व्यवसाय विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (२) बमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउन परीक्षा सम्बन्धी व्यवस्था गरेको हो । 

नयाँ व्यवस्थाअनुसार अभिकर्ताहरुले अनलाईन माध्यम (जुम) मार्फत् परीक्षा दिनुपर्नेछ । परीक्षाको प्रक्रिया र समयतालिका भने परीक्षाको मिति तय भइसकेपछि सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ । 

परीक्षामा सामेल हुने परीक्षार्थीले बीमा प्राधिकरणले आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको पाठ्यक्रम र नमूना प्रश्नपत्र हेर्न सक्नेछन् ।