नयाँदिल्ली । भारतको मध्यप्रदेशको खरगौन जिल्लामा शुक्रबार एकैसाथ ९ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो घटनापछि सो क्षेत्रमा त्रासको वातावरण बनेको छ । 

यो घटनाको यो विषय यसकारण चर्चामा छ कि, ती ९ मध्ये ६ संक्रमित एउटै गाउँका छन् । गाउँका एक नाई(कपाल काट्ने हजाम)को कपडाबाट ती ६ जनामै कोरोना संक्रमण फैलिएको समाचारमा दाबी गरिएको छ । 

सो नाईको सलुनमा कपाल तथा दाह्री काट्नेहरुलाई संक्रमित कपडाबाटै कोरोना सरेको बताइएको छ । 

इन्दौरको सेफी होटलमा वेटरको रुपमा काम गर्ने मनोज कुशवाहलाई ५ अप्रीलमा कोरोना संक्रमण पुष्टि भएको थियो । जब उनको हिस्ट्रीको सोधीखोजी गरियो, तब उनले गाउँकै एक नाईको सलुनमा कटिङ र सेभिङ गराएको बताए । उनले लगाएको कपडा प्रयोग गरेर नाईले गाउँका अन्य १० जनाजतिको कपाल र दाह्री काट्ने काम गरेका थिए । यी सबै मानिसहरुको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो गाउँमा हालसम्म ९ जना संक्रमित फेला परिसकेका छन् । यहीकारण स्थानीय प्रशासनले सो गाउँलाई नै पूर्ण रुपमा शिल गरेको छ ।