काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) एकैपटक २ जीवन बीमासहित ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। 

सेबोनले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ, सन नेपाल लाइप र माण्डु हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्कासनको अनुमति पाएको छन्। 

सिटिजन लाइफले १०० अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियर थप गरेर प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीले १ करोड २५ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। यसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ भने कर्मचारीका लागि ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको छ। 

सिटिजन लाइफको आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।  

यसैगरी सन नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ आईपीओ बिक्री गर्नेछ। यो कम्पनीले कुल ९६ लाख कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।  

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

उता मान्डु हाइड्रोपावरले पनि १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न पाउने अनुमति पाएको छ। यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई कुल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। 

मान्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

यसैगरी मिड–सोलु हाइड्रोपावरले स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारणलाई १०० अंकित मूल्यमा कुल १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। 

हाथवे इन्भेस्टमेन्टले भने ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।