काठमाण्डौ । चुक्तापूँजी बढाउने चटारोका कारण यो वर्ष दशैंतिहारअघि नै  कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणाको लहर नै चलाएका छन् । 

यही लहरमा दुई विकास बैंक र एक फाइनान्स कम्पनीले असोज २१ र कात्तिक १ देखि करिब ६८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्दैछन् । 

सबैभन्दा बढी राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले करिब ४२ करोड, त्यसपछि गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले करिब १५ करोड र तीन जिल्ले विकास बैंक मितेरी डेभलपमेन्ट बैंकले साढे १० करोड भन्दा बढी मूल्यको हकप्रद निश्कासन गर्न लागेका हुन् । 

मुक्तिनाथ विकास बैंकले कुल चुक्तापूँजीको ५० प्रतिशत हकप्रद दिने यसअघि नै घोषणा गरी स्वीकृतिको सबै प्रक्रिया पूरा गरिसकेको छ । यो बैंकले आगामी असोज २१ गतेदेखि घोषित हकप्रदको निश्कासन सुरु गरिने जनाएको छ । एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले हकप्रदका लागि कात्तिक २५ गतेसम्मका लागि आवेदन दिन सकिने स्पष्ट पारेको छ । 

मुक्तिनाथ विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

भदौ ३० गतेसम्ममा मुक्तिनाथ विकास बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेका सेयरधनीले मात्र घोषित हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

मुक्तिनाथको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक सेयरधनीले लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको मुख्य कार्यालय र मुक्तिनाथ विकास बैंकका सबै कार्यालयबाट हकप्रदको आवेदन भर्न सक्नेछन् । 

५० प्रतिशत हकप्रदको व्यवस्थापनपछि मुक्तिनाथ विकास बैंकको हाल ८३ करोड ८४ लाख रहेको चुक्तापूँजी बढेर १ अर्ब २५ करोड पुग्नेछ । यो बैंकको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा ३५ करोड ८८ लाख खूद नाफा आर्जन गरेको थियो । 
बैंकको सेप्टेम्बर १८ को अन्तिम सेयर मूल्य प्रतिकित्ता १२०३ रुपैयाँ रहेको छ । 

यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडले पनि आगामी असोज २१ गतेदेखि नै ५० प्रतिशत हकप्रद निश्कासन गर्दैछ । यो कम्पनीले पनि मंगलबार नै सूचना प्रकाशित गर्दै असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म हकप्रदका लागि आवेदन दिन सकिने प्रष्ट्याएको हो । 

यो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको कुल १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद जारी गर्न लागेको हो । 

यो कम्पनीले हकप्रदका लागि बुक क्लोजको मिति भदौ १८ नै तोकेको थियो । यो मिति भन्दा अघिल्लो दिनसम्म कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद भर्न पाउने बताइएको छ । 

गुहेश्वरी फाइनान्सको हकप्रदको निश्कासन तथा व्यवस्थापनको कार्यमा समेत  एनआइबिएल क्यापिटलले नै बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुक सेयरधनीले एनआइबिएलको लाजिम्पाटस्थित कार्यालय तथा गुहेश्वरी फाइनान्सको मुख्य तथा सबै शाखा कार्यालयहरुबाट हकप्रदको आवेदन भर्न सक्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ । 

यो फाइनान्सले ५० प्रतिशत हकप्रद निश्कासन र व्यवस्थापनपछि हाल २९ करोड ३७ लाख रहेको चुक्तापूँजी बढेर ४४ करोड ६ लाख पुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको छ । 

यो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्ममा ७ करोड खूद नाफा आर्जन गरेको थियो । 
यो कम्पनीको सेप्टेम्बर १८ को अन्तिम सेयर मूल्य प्रतिकित्ता ३ सय २५ रुपैयाँ रहेको छ । 

उता, धरानमा मुख्य कार्यालय रहेको तीन जिल्ले विकास बैंक मितेरी डेभलपमेन्ट बैंकले चाहि आगामी कात्तिक १ गतेदेखि घोषित ५० प्रतिशत हकप्रद निश्कासन थाल्ने जनाएको छ । 

यो  बैंकले समेत मंगलबार नै सूचना प्रकाशित गरी कात्तिक १ देखि सुरु भई मंसीर ५ गतेसम्म हकप्रदका लागि आवेदन दिने मिति तोकिएको छ । 

यो विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद निश्कासन गर्दैछ । 

यो बैंकले असोज ६ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असोज ५ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदको आवेदन दिन पाउनेछन् ।

यो  बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका प्रभू क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 
इच्छुक सेयरधनीले कमलादीस्थित प्रभू क्यापिटलको मुख्य कार्यालय तथा मितेरी विकास बैंकका सबै कार्यालयबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

हाल यो बैंकको चुक्तापूँजी  २१ करोड २१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदको निश्कासन तथा व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ३१ करोड ६९ लाख पुग्ने बताइएको छ ।

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्म ९ करोड ७२ लाख  खूद नाफा आर्जन गरेको थियो । 
यो बैंकको सेप्टेम्बर १८ को सेयरको अन्तिम कारोबार मूल्य प्रति कित्ता १२८३ रुपैयाँ रहेको छ ।