काठमाण्डौ । अन्तरबैंक ब्याजदर दुई सातामै सतप्रतिशत बढीले बढेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १ गते अन्तरबैंक ब्याजदर बढेर ८.५ प्रतिशत पुगेको छ। जब कि गत माघ १६ गते अन्तरबैंक ब्याजदर ४.०९ प्रतिशतमात्रै थियो। 

अन्तरबैंक ब्याजदर बढ्नुले बैंकिङ प्रणालीमा तरलतामा कमीको संकेत गर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए। बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशतको लाइनमा रहेकोले बैंक तथा वित्तीयहरुको लगानीयोग्य क्षमतामा समस्या नभएको पनि ती अधिकारीले बताए। 

फागुन १ गतेसम्म बैंकहरु औसत सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ। गत माघ १६ गते औसत सीडी रेसियो ८६.४६ प्रतिशत थियो। 

ती अधिकारीका अनुसार रिपोमार्फत बजारमा पठाइएको पैसा फिर्ता भएपछि तरलतामा कमी आएका हुन सक्छ। ‘बजारमा पुनः पैसा पठाउनेबारे राष्ट्र बैंकमा छलफल भइरहेको छ’, ती अधिकारीले भने। 

फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ। गत माघ १६ गतेसम्म कुल निक्षेप ५३ खर्ब ६१ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो १५ दिनको अवधिमा निक्षेप पनि २१ अर्ब रुपैयाँले बढेको छ। 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ। गत माघ १६ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा फागुन १ गतेसम्म बढेर ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।