काठमाण्डौ । दुई निर्जीवन लघुबीमा कम्पनीले हालसम्म १२ हजार रुपैयाँमात्रै बीमाशुल्क आर्जन गरेका छन्। 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले जम्मा १२ हजार रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका हुन्। 

सुदूरपश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ इन्स्योरेन्सले ७९ लाख ७१ हजार रुपैयाँ बीमांक रकमको पोलिसी बिक्रीमार्फत असार मसान्तसम्म १० हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। साउन ११ गतेदेखि औपचारिक रुपमा व्यवसाय सुरु गरेको प्रोटेक्टिभले लघुबीमाको लाइसेन्स पाएपछि नै अनौपचारिक रुपमा व्यवसाय थालेको थियो। आगामी दिनमा शाखा विस्तार गरी अन्य पोलिसीहरु बिक्रीमार्फत व्यवसाय बढाउने सीईओ नरेशकुमार रोका बताउँछन्। 

हाल कम्पनीले टर्म पोलिसीका रुपमा अन्य सम्पत्ति पोलिसीमार्फत निर्जीवन बीमा सेवा दिइरहेको छ। 

त्यस्तै असार २८ गतेदेखि औपचारिक व्यवसाय थालेको नेपाल माइक्रो इन्स्योरेन्सले जम्मा १ हजार रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेको छ। 

चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्समा १० लाख रुपैयाँ बीमांक रकमबराबरको बीमा भए पनि असार मसान्तसम्म जम्मा १ हजार रुपैयाँ प्रिमियम कलेक्सन भएको हो।