काठमाण्डौ । दुई निर्जीवन लघुबीमा कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनासम्म ३ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। 

गत असार २८ गतेदेखि औपचारिक व्यवसाय सुरु गरेको नेपाल माइक्रो इन्स्योरेन्स र साउन ११ गतेदेखि औपचारिक व्यवसाय सुरु गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भदौ मसान्तसम्म करिब ४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। 

चालु आर्थिक वर्षको दुई महिनामा नेपाल माइक्रो इन्स्योरेन्सले २ लाख ७६ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ लाख १९ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। ग्रामीण एवं दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडीबुटीलगायतको बीमा गर्न बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स पाएका यी दुई लघुबीमा कम्पनीले छोटो समयमै व्यवसाय बढाउन सफल भएका छन्। 

ठूला बीमा कम्पनीहरुको दाँजोमा लघुबीमा कम्पनीको व्यवसाय बढाउन चुनौतीपूर्ण रहेको नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र रिमालले बताए। ‘ग्रामीण भेगका बीमितलाई समेट्नेगरी बीमा गराउन प्राधिकरणबाट लघुबीमा कम्पनीको लाइसेन्स पाएका हौँ’ रिमालले भने, ‘औपचारिक रुपमा व्यसाय थालेको दुई महिनामात्रै पूरा भएको छ, त्यसको हिसाबमा हालसम्मको लघुबीमा व्यवसायलाई राम्रै मान्न पर्छ।’ 

यसका साथै नेपाल माइक्रो इन्स्योरेन्सले लघुबीमा व्यवसाय बढाउन विभिन्न खालका रणनीतिहरुसमेत लिएको रिमालले बताए। ‘विशेषगरी अहिले हामी लघुबीमा व्यवसाय बढाउन शाखा विस्तारमा केन्द्रीत छौँ’, उनले भने, ‘कम्पनीले बाँकेको नेपालगन्जमा पहिलो शाखा विस्तार गरिसकेको छ। यो क्रमलाई हामी बढाउँदै जानेछौँ।’ 

यसका साथै कम्पनीले बनेपा, हेटौँडा, वीरगन्ज, पोखरा र इटहरीमा समेत शाखा विस्तार गर्ने योजना लिएको रिमालले बताए। ‘हाल कम्पनीले सम्पत्ति बीमा, घर बीमा र व्यक्तिगत दुर्घटना बीमाबाट बीमितहरुलाई सेवा दिइरहेको छ’, उनले भने, ‘बीमा प्राधिकरणबाट थप प्रोडक्टहरु स्वीकृत भएपछि हामी बीमितहरुलाई थप सेवा दिनेछौँ। मोटर बीमा तथा सरकारबाट ८०% कृषि बाली बीमाको अनुदान प्राप्त भएको खण्डमा बाली बीमाबाट पनि सेवा दिने योजना रहेको छ।’

लघु निर्जीवन बीमा कम्पनीहरु कारोबारको सुरुवात गर्ने नेपाल माइक्रो इन्स्योरेन्स पहिलो कम्पनी हो। चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीको भदौ मसान्तसम्म बीमालेखको संख्या ६६ वटा रहेको छ। त्यस्तै, कम्पनीबाट जारी लघुबीमाको कुल बीमाशुल्क भने ६ करोड २६ लाख ६९ हजार रुपैयाँ रहेको छ। 

त्यस्तै सुदूरपश्चिमको धनगढीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भदौ महिनासम्ममा १ लाख १९ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। 

भर्खरै औपचारिक व्यवसाय थालेकोले लघुबीमा व्यवसाय सोचेजस्तो वृद्धि हुन नसकेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश रोक्काले बताए। ‘ग्रामीण भेगलाई टार्गेट गरी लघुबीमा व्यवसाय गर्न उत्तिकै च्यालेन्ज छ तर यति छोटो समयमा यति प्रिमियम उठ्नु भनेको नराम्रो प्रदर्शन पनि भन्न मिल्दैन’, उनले भने, ‘आगामी दिनमा कम्पनीको व्यवसाय बढाउने योजनाहरु बनाएका छौँ, चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले राम्रै प्रिमियम संकलन गर्छ भन्नेमा विश्वस्त छु।’

कम्पनीले हाल अन्य सम्पत्ति बीमा, घर बीमा र प्राइभेट एक्सिडेन्टल बीमाबाट बीमितहरुलाई सेवा दिँदै आइरहेको छ। ‘विशेषगरी सुदूरपश्चिम प्रदेशका ९ जिल्लालगायत नेपालभरि शाखा सञ्जाल विस्तार गर्ने कम्पनीले रणनीति लिएको छ’, उनले भने, ‘ठूला बीमा कम्पनीहरुबाट सेवा लिन नसकेका न्यून आय भएका दुर्गम स्थानका सीमान्तकृत वर्गसम्म स–सानो रकमको बीमा गराई सेवा दिनेछौँ।’ 

यसका साथै कम्पनीले बीमितको सेवा तथा सहजताका लागि टेक्नोलोजीमा जोड दिइएको रोक्काले बताए। ‘सेवाग्राहीले सहजै घरमा बसी–बसी अनलाइनमार्फत बीमा पनि गराउन सक्नेछन्’, उनले भने। 

भदौ मसान्तसम्म कम्पनीको कुल बीमालेख संख्या ४१ रहेको छ। कम्पनीबाट जारी भएको कुल बीमाशुल्क भने २ करोड ३१ लाख ६७ हजार रुपैयाँ रहेको छ।