काठमाण्डौ । गत साउनमा १०० प्रतिशत हकप्रद जारी गरेको सिन्धु विकास बैंकले पुनः ८० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । 

राष्ट्रबैंकको पूँजीवृद्धि योजनालाई तोकिएको सीमाभित्रै निश्कर्षमा पुर्याउन सिन्धु विकास बैंक हतारिएको हो । 
बैंकले शुक्रबार एक सूचना जारी गर्दै आफ्ना सेयरधनीलाई पुनः ८० प्रतिशत हकप्रद दिने स्पष्ट पारेको छ । 
यो विकास बैंकले २०७३ साउन २३ गते एकसयप्रतिशत अर्थात कुल १२ लाख ९ हजार ३ सय ७५ कित्ता हकप्रद निश्कासन गरेको थियो । 

साउनमा १ सय प्रतिशत हकप्रद निश्कासनअघि यो बैंकको चुक्तापूँजी १२ करोड ९ लाख रुपैयाँ थियो । १ सय प्रतिशत हकप्रदको निश्कासन तथा व्यवस्थापनपछि बैंकको चुक्तापूँजी २४ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई १७.६८ प्रतिशत सेयर लाभांश वितरण गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी २८ करोड ४५ लाख पुगेको छ । यो चुक्तापूँजीका ८० प्रतिशत हकप्रद जारीपछि बैंकको कुल चुक्तापूँजी ५१ करोड २१ लाख पुग्नेछ । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्र राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई २ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने सीमा तोकेको छ । यही सीमालाई भेट्न विकास बैंकहरुले पूँजीवृद्धिको विकल्पको रुपमा हकप्रद तथा बोनस जारी गरिरहेका छन् भने कतिपयले मर्जर वा एक्वीजिसनको विकल्प समेत रोजिरहेका छन् । सिन्धु विकास बैंकले अन्य बैंक तथा बित्तीय संस्थासँग मर्जर वा एक्वीजिसनका लागि समेत ढोका खुल्ला राखिएको जनाएको छ । 

सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ७२ लाख नाफा गरेको थियो ।