काठमाण्डौ । खाडी देशहरुकै आकर्षक शहर दुुबई अग्ला भवनहरुका लागि समेत विश्वमै चर्चित छ । अब यही शहरमा विश्वको सबैभन्दा अग्लो होटलको उद्घाटन हुने भएको छ । 

यसअघि समेत विश्वको सबैभन्दा अग्लो होटलको रेकर्ड दुुबईकै नाममा कायम थियो । आफ्नै रेकर्डलाई यो शहरले आफैं तोडी सबैभन्दा अग्लो होटलको तामझामपूर्ण ढंगले उद्घाटन गर्न लागेको एजेन्सीहरुले जनाएका छन् । 

सुनजस्तै चम्किने ७५ तलाको गेवोरा होटल ३५६ मिटरको उचाईमा रहेको छ । यसअघि सबैभन्दा अग्लो होटलको रेकर्ड बनाएको जेडब्ल्यू मेरिएट मार्किसभन्दा यो होटल १ मिटर अग्लो रहेको छ ।

गेवोरा होटल एफिल टावरभन्दा ५६ मिटर अग्लो रहेको छ । 

गेवोरा होटल सोमबार(फेब्रुुअरी १२)देखि संचालनमा आउनेछ । 

यो होटलमा ५२८ वटा कोठा रहेका छन् । तर, उचाईको हिसाबले अब दोश्रो नम्बरमा झरेको जेडब्लयू मेरिएट मार्किस होटलमा भने १६०८ कोठा रहेका छन् । 

होटलमा ४ वटा रेष्टुरेन्ट, ओपन एयर पुल, ७१ औं तलामा सुुविधासम्पन्न स्पा र हेल्थ क्लब रहेको छ ।