बाबुराम लोप्चन लामा र उनको ट्राभल्सको लोगो ।
                                    -प्रकाश बञ्जारा
यूएई । अस्तव्यस्त शहर दुवईको सामान्य भवनमा भुँइतलामै भेटियो पिपल ट्राभल्स एण्ड टुर्स र भेटिए ट्राभल्सका निर्देशक बाबुराम लोप्चन लामा  । 
काठमाण्डौमा जन्मेहुर्केका लामाले संयुक्त अरब ईमिरेट्सको दुवईमा पाइला टेकेको १८ बर्ष भएछ, तर पिपल ट्राभल्स भने भर्खर २ बर्षको हुँदैछ ।
कुनै समय काठमाण्डौको र्याडिसन होटलमा काम गर्ने ठिटो आफ्नो सौख पूरा गर्न खाडी भासिएका रहेछन् । सन् २००० मा होटलमा काम गर्दागर्दै फ्रि भिसा र फ्रि टिकट मिलेपछि दुवईकै मेलिनियम होटलमा काम गर्न आईपुगेका रहेछन् लामा ।
समयचक्रसँगै थुप्रै उत्तरचढावहरु भए, आज १८ बर्ष पछि उनी दुवईमै कुनै कम्पनीको मालिक छन् र आधा दर्जनभन्दा बढी नेपालीलाई उनले दुवईमै रोजगारी दिएका छन् ।
सुरुमा ३ बर्षको दुवई बसाईपछि देशमै आफ्नो केही व्यवसाय गर्न भनेर नेपाल फर्किएका लामाले आफूले होटलमा काम गर्दा जानेबुझेको ट्राभल्स क्षेत्रमै लगानी गरे, फलस्वरुप जन्मियो एभरेस्ट होलिडे ट्राभल्स एण्ड टुर प्रालि ।
व्यवसाय राम्रैसँग चलेको रहेछ, लगन र मेहनतले कुनैबेला सफल युवा व्यवसायीको रुपमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबाट अभिनन्दन समेत पाएका रहेछन् लामाले । तर, उनकै भाषामा समयको हुरी यस्तो चलेछ कि जसले व्यवसायिक वाताबरण उडाएर लगिदिएछ ।
त्यही भएर लामाले छोडेछन् नेपाल र सुरु गरेछन् पिपल ट्राभल्स एण्ड टुर्स दुवईमा । पहिचान र परिचालनमा विश्वास राख्ने यी युवा व्यवसायी पिपल ट्राभल्सका एक्ला लगानीकर्ता भने होइनन् । अन्य लगानीकर्तासँगको सहकार्यमा कर्पोरेट मोडलमा व्यवसाय चलाईरहेको उनले सुनाए ।
दुवईमा रहेका नेपालीलाई मध्यनजर गरेर यहाँ झण्डै एक दर्जन नेपाली ट्राभल्स कम्पनी खोलिएका छन्, जसले गर्ने मुख्य काम भनेको नेपाली कामदारका लागि हवाई टिकटको बिक्री नै हो । तर साइड लाईनमा भिजिट भिसा निकाल्नेदेखि लिएर नेपालमा आन्तरिक हवाईसेवा कम्पनीहरुसँगको सहकार्यमा आन्तरिक हवाईटिकट समेत दुवईमै उपलव्ध गराउने काम समेत ट्राभल्स कम्पनीहरुले गर्दै आइरहेका छन् र पिपल ट्राभल्सले पनि भिजिट भिसा, कम्पनी परिवर्तन गरेकाहरुलाई भिसा परिवर्तन गर्न एटुए सेवा , हवाईटिकटका साथमा होटल बुकिङ्ग तथा टुर र सफारीका सेवा समेत दिँदै आइरहेको बताएको छ ।
दुवईमा खोलिएका धेरै नेपाली ट्राभल्स कम्पनीले नेपालीलाई मात्र ध्यानमा राखेर सेवा सुविधा दिइरहेको भएता पनि आफूले भने सबै देशका सबैखाले हवाई टिकटका साथमा विदेशी पर्यटकलाई नेपाल भित्राउन नेपालको पर्यटनका लागि अन्तराष्ट्रिय हवको रुपमा विकास गर्न पिपल ट्राभल्सको स्थापना गरेको लामा बताउँछन् ।
“हाम्रो मुख्य उद्देश्य भनेको यहाँका लोकलहरुका साथै अन्य विदेशीहरुलाई नेपालको सँस्कृति र सुन्दरताको बयान गर्दै नेपाल घुम्न उत्साहित बनाउनु र यहाँका ठूला ट्राभल्स कम्पनीसँगको सहकार्यमा नेपाल घुम्न पठाउनु हो ।” लामा भन्छन् ।
पिपल ट्राभल्सकै पहलबाट थुप्रै युएईका स्थानीय नागरिकलाई नेपाल घुमाइसकेको लामाले बताए । आफ्नो देशको कला र सँस्कृतिको बयान गर्दै विदेशी पर्यटकलाई नेपाल घुमाउँदा खुसी भएता पनि राजधानीको धूलो, धूँवा, मुस्लिम पर्यटकलाई मस्जिद नहुनु, हलाल रेस्टुरेन्टको अभाव हुनु जस्ता गुनासा सुन्दा भने दुःखी हुनुपरेको अनुभव पनि छ उनीसँग । पर्यटनको माध्यमबाट देशको अर्थतन्त्रलाई टेवा दिन सकिने भए पनि पर्यटकको चाहनालाई सम्बोधन हुनेखालका पूर्वाधारहरु देशमा नभएको लामा बताउँछन्।
नेपालमा समेत सफल व्यवसायी बनिसकेको मान्छे दुवई नै किन रोज्नुभयो त भन्ने बिजशालाको जिज्ञासामा लामा भन्छन्, “दुवईको खुल्ला व्यापार नीति अन्य देशको दाँजोमा राम्रो छ , व्यापारमा अझ विश्वास बढ्ने वातावरण हुनुका साथै व्यापारको फ्लो नहेरी वित्तिय सँस्थाबाट ऋण लिएर पनि व्यापारलाई विस्तार गर्ने वातावरण भएको हुँदा अमेरिका भन्दा पनि मैले दुवईलाई नै रोजेको हुँ ।”
हाल दुवईमा व्यवसाय राम्रै फस्टाइरहेको भएता पनि भोलिका लागि व्यापार विस्तारको ध्यान भने नेपालतिरै रहेको लामाले सुनाए । नेपालमा पनि हाइड्रोपावर, पर्यटन, कृषि लगायतका क्षेत्रमा राम्रो लगानीको अवसर रहेको लामाको ठम्याई छ ।
दुवईमा रहेका नेपाली व्यवसायीमा अस्वस्थ प्रतिस्पर्धा रहेको बताउने यी युवा आफ्नो व्यावसायबाट भने सन्तुष्ट नै छन् । तर अस्वस्थ प्रतिस्पर्धाले ग्राहकले राम्रो सुविधा नपाउने कुरामा भने चिन्तित देखिन्छन् ।
“व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, यसो भयो भने ग्राहकले उत्पादन र सेवा दुवै राम्रो पाउँछन् साथमा व्यापारप्रतिको विश्वसनीयता पनि बढ्दै जान्छ । ” उनले थपे ।
आफ्नो ज्ञान, सीप तथा अनुभवका आधारमा मात्र कुनै पनि व्यवसायमा हात हाल्न चाहनेहरुका लागि लामाले सुझाव दिंदै भने–‘चाहाना मात्र भएर हुँदैन , पहिला बजेट बनाउनुपर्छ, दक्ष जनशक्ति छानेर काममा लगाउनुपर्छ । साथै बजार धान्न कम्तीमा १ बर्ष व्यापार धान्नसक्ने खर्च आफूसँग ब्याकअप हुनुपर्छ यी सम्पूर्ण योजना बनाएर मात्र कुनै पनि व्यवसायको थालनी गर्नुपर्छ ।”
राजनीतिक स्थायित्व देशमा भए थुप्रै अवसर भएको बताउने लामा देशमा जुन राजनीतिक पार्टीको सरकार आयो त्यहीअनुकुल नीति नियमहरु बन्ने प्रवृतिबाट भने आजित छन् । “व्यापारमा उदार पोलिसिले बालुवाको मरुभूमिलाई हराभरा बनायो, हामीलाई अनुदार व्यापार पोलिसिले खण्डहर बनाउँदैछ ।” लामाले भने ।
देशका लागि देशले नै बनाउने नीतिहरु उदार भए विदेशमा सिकेको सीप नेपालमा भित्रिने र देशमै अवसरहरु सिर्जना हुने उनको विश्वास छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19