काठमाण्डौ । आजदेखि देवः विकास बैंकको ४० प्रतिशत हकप्रदको बिक्री खुलेको छ । 

यो बैंकले १०० रुपैयाँ अंकित दरले ६५ करोड ३३ लाख १० हजार ८ सय ५९ रुपैयाँ मूल्यको ६५ लाख ३३ हजार १ सय ८ दशमलव ५९ कित्ता सेयरको बिक्री खुल्ला गरेको हो। 

यो बैंकका इच्छुक सेयरधनीले चैत २६(आज)देखि बैशाख ३० गतेसम्म हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

बैंकले फागुन १७ गतेलाई बुक क्लोजको मिति थियो । यसको अर्थ यो बैंकको हकप्रद फागुन १६ गतेसम्म कायम सेयरधनीले मात्र खरीद गर्न सक्नेछन् ।

एनआइबिएल क्यापिटल बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । बिक्री प्रबन्धकको मुख्य तथा शाखा कार्यालय र देव विकास बैंकका देशभरका कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । 

धितोपत्र बोर्डले गत माघ २६ गते यो बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिएको थियो । 

देवः विकास बैंकको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी, इक्रा नेपालले ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था आधारभूत भन्दा कमजोर भन्ने हो ।

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि २ अर्ब २८ करोडको उचाईमा पुुग्नेछ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले १४ करोड ६ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो कम्पनीको आइतबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको छ ।