काठमाण्डौ । माघ २८ गते(आज)देखि देशकै ठूलो मर्चेन्ट बैंक अस्तित्वमा आएको छ । एनआइबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्पन्न भई अस्तित्वमा आएको ‘एआइबिएल एस क्यापिटल’ले आजदेखि संयुक्त कारोबार थालेको हो । 

एनआइबिएल क्यापिटल लिमीटेड नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो भने एस क्यापिटल लिमीटेड साबिकको एस डेभलपमेन्ट बैंकको सहायक कम्पनी । इन्भेष्टमेन्ट बैंकले एस बैंकलाई आफूमा गाभेपछि उसको सहायक कम्पनीलाई समेत सहायक कम्पनीले आपसमा गाभेको हो । 

धितोपत्र बोर्डले गत माघ ११ गते यी दुुई मर्चेन्ट बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । यी २ संस्थाबीच गत कात्तिक २३ गते एकआपसमा गाभ्ने गाभिने सम्झौता भएको थियो भने मंसिर २९ गते सम्पन्न दुुवै कम्पनीको विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

संयुक्त कारोबारसँगै अस्तित्वमा आएको एनआइबिएल एस क्यापिटलको चुक्तापूँजी २७ करोड रुपैयाँ रहेको छ । यति धेरै पूँजी देशमा संचालित कुनै पनि मर्चेन्ट बैंकको छैन । एसलाई गाभ्नुुअघि नै एनआइबिएलले ललितपुर र पोखरामा शाखा बिस्तार गरिसकेको छ । यो कम्पनी शाखा बिस्तार गर्ने देशको पहिलो मर्चेन्ट बैंक पनि हो । कम्पनीले निकट भविष्यमै केही शाखा थप गर्ने योजना समेत बनाएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार कम्पनीमा हाल १ लाख ४२ हजार भन्दा धेरै हितग्राही खाता रहेको छ भने ३८ वटा कम्पनीको सेयर रजिष्टारको काम गर्दै आइरहेको छ ।