काठमाण्डौ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागि म्युचुुअल फण्ड(सामूहिक लगानीकोष) राम्रो विकल्प हो । नेपालमा यस्ता कोष आएको धेरै भएको छैन । सामूहिक लगानी कोष नियमावली २०६७ जारी भएपछिको देशकै पहिलो म्युचुुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ योजना आइतबार परिपक्व भएको छ । स्किम परिपक्व भएसँगै नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि नै यो म्युुचुुअल फण्डको कारोबार बन्द गरेको छ । 

नेपालकै पहिलो म्युुचुुअल फण्डको रुपमा आएको यो स्किम पाँचवर्षे बन्दमुखी फण्ड हो । ५० करोड रुपैयाँको यो स्किमले १० रुपैयाँ दरका इकाईहरु बिक्री गरी सर्वसाधारणबाट लगानी जुटाएको थियो । 

पाँच वर्षको अवधिमा यो स्किमले इकाइधनीहरुलाई औसतमा वार्षिक ४७ प्रतिशतको दरले रिटर्न दिएको फण्ड संचालक सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडका सीओओ चन्दन कार्कीले बताए । उनका अनुसार यो स्किमका इकाईधनीहरुलाई प्रति इकाई करिब २१ रुपैयाँको दरले रकम फिर्ता गर्ने योजना छ ।  

गएको चार वर्षको अवधिमा स्किमले इकाईधनीहरुलाई नगद लाभांशको रुपमा १२४.५० प्रतिशत रिटर्न दिएको छ । इकाईतर्फ बढेको मूल्यमा हिसाब गर्दा लगानीकर्ताले ११० प्रतिशत रिटर्न जाँदा जाँदै पाउनेछन् । यी सबै खालका रिटर्न हिसाब गर्दा वार्षिक ४७ प्रतिशतको हाराहारीमा रिटर्न पाएको देखिएको कार्कीले बताए । 

अहिलेको प्रावधान अनुसार यस्ता फण्ड परिपक्व भएको ३ महिनाभित्र इकाइधनीको रकम फिर्ता गरिसक्नुुपर्छ । त्यो समय अपुुग भए धितोपत्र बोर्डबाट स्वीकृति लिएर रकम फिर्ताको समय तीन महिना थप्न सकिन्छ । तर, आफूहरुले पहिलो तीन महिनाभित्रै इकाइधनीहरुको पैसा फिर्ता गर्ने योजना बनाएको कार्कीले जानकारी दिए । ‘कतिपय बोनस र हकप्रद सेर खातामा आइसकेको छैन, आइसकेको पनि केही सूचिकृत हुन बाँकी छ ।’ उनले थपे–‘एउटा कम्पनीको संस्थापक सेयर पनि छ, अक्सनको सूचना निकालेर त्यसलाई पनि नगदमा रुपान्तरण गर्नुपर्यो, प्रक्रिया मिलाउँदा केही समय लाग्छ ।’ 

उनले संचालन सक्षमता र प्रतिफलको हिसाबले आफूहरुको पहिलो स्किम भव्य सफल भएको दाबी समेत गरे । 

देशकै पहिलो म्युचुुअल फण्ड सफलतापूर्वक संचालन गरेको सिद्धार्थ क्यापिटलले अहिले पनि २ वटा यस्ता स्किमहरु संचालन गरिरहेको छ, तीमध्ये एउटा नयाँ स्किम हो । 

अब नेपालमा यस्ता १० स्किम संचालित छन् भने केही सूचिकृत हुन तथा केही स्वीकृतिको पर्खाईमा छन् । हालसम्म देशमा खुल्लामुखी सामूहिक लगानीकोष भने कुनै पनि कम्पनीले सुरुवात गरेका छैनन् ।