काठमाण्डौ । तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ‘सबैको लघुवित्त वित्तीय संस्था’ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आफूलाई तीव्र रुपमा सुधार गर्दै लगेको देखिएको छ । 

यो लघुवित्तले अघिल्लो वर्षको यही अवधिमा ५२ लाख ५५ हजारको खूद नोक्सानीलाई १ करोड २० लाख खूद नाफामा परिणत गर्ने सफलता पाएको हो । 

अघिल्लो वर्ष ५६ लाख २५ हजार संचालन घाटामा रहेको कम्पनी समीक्षा अवधिसम्म १ करोड ८९ लाख संचालन नाफामा रहेको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण यो लघुवित्तले समीक्षा अवधिमा २ करोड ७९ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५२ लाख ६५ हजारमा सीमित थियो ।

समीक्षा अवधिमा कम्पनीले २४ करोड ६९ लाख निक्षेप संकलन गरी तथा ८८ करोड ३० लाख सापटी लिएर १ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ करोड ११ लाख निक्षेप संकलन गरी तथा २४ करोड ५२ लाख बढी सापटी लिई २० करोड ५० लाख बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ५१ लाखले ऋणात्मक रहेको रिजर्बलाई १ करोड ३१ लाखले धनात्मक बनाएको छ । 

कुल ११ करोड २० लाख चुक्तापूँजी भएको यो कम्पनीमा खराब कर्जाको अनुपात भने शून्यबाट बढेर ०.०३ प्रतिशत पुगेको छ । कस्ट अफ फण्ड ११.२० प्रतिशत रहेको छ भने तरलता अनुपात १५.९७ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.२४ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.४७ प्रतिशत रहेको छ ।