काठमाण्डौ । लामो समयको अन्तरालपछि दोश्रो बजारमा नवील बैंक सबैभन्दा बढी मूल्यको वाणिज्य बैंक बनेको छ। 

केही महिनादेखि एनआइसी एशिया बैंकले दोश्रो बजार मूल्यमा सबै वाणिज्य बैंकलाई पछि पारेको थियो । एनआइसी एशिया बैंकले विगत वर्षदेखि लाभांश नबाँड्दा यसको मूल्य बढेर ९०० माथिसम्म पुगेको थियो । तर, नेप्से परिसूचकमा आएको निरन्तरको गिरावटपछि एनआइसी एशियाको मूल्य ७६० को हाराहारीमा झरेको थियो । 

एनआइसी एशिया बैंकले विगत वर्षदेखिको लाभांश एकैपटक २९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरी वार्षिक साधारणसभा समेत आह्वान गरिसकेको छ । बैंकको एजीएम र लाभांश वितरणको उद्देश्यले बुक क्लोज मिति तोकेर मूल्य समायोजन समेत भइसकेको छ । यहीकारण अहिले एनआइसी एशिया बैंकको दोश्रो बजार मूल्य घटेर ५४० रुपैयाँ प्रतिकित्ताको लाइनमा सीमित बन्न पुगेको छ । 

मूल्य समायोजन भएको दिन एनआइसी एशियाको दोश्रो बजार मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ रहेको थियो । तर त्यसपछि पनि यो बैंकको मूल्य लगातार घटेर निकै तल आउँदा नवील बैंकले पुनः सेयरमूल्यका हिसाबले लिडर वाणिज्य बैंकको विरासत फर्काउने मौका पाएको छ । 

त्यसो त नवील बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई हालसम्म लाभांश घोषणा गरिसकेको छैन । राम्रै बोनस सेयरसहितको घोषणा भए यो कम्पनीको मूल्य समायोजनपछि दोश्रो बजार मूल्य घट्नेछ । तर, लाभांश घोषणा नहुँदासम्मको अवस्थामा भने नवील बैंक नै दोश्रो बजार मूल्यमा लिडर वाणिज्य बैंक बनेको छ । 

केही वर्षअघिसम्म नवील बैंकले लगातार दोश्रो बजारमा सबैभन्दा बढी मूल्य भएको स्क्रिप्टको रुपमा आफ्नो इतिहास बनाएको थियो । 
मंगलबार नवील बैंकको मूल्य दोश्रो बजारमा ५७० रुपैयाँ प्रतिकित्ता हाराहारीमा रहेको छ । एक महिनाअघि यो कम्पनीको मूल्य ६०० हाराहारी पुगे पनि बजार लगातार घट्दा यसको मूल्य पनि घटेको हो । 

हाल दोश्रो बजारमा एभरेष्ट बैंकको मूल्य प्रतिकित्ता ४७६ रुपैयाँ रहेको छ । यो बैंकको पनि बोनस घोषणापछि मूल्य समायोजन भइसकेको हो । 

मूल्यका हिसाबले तेश्रो पोजिसनमा रहेको स्ट्याण्डर्ड चार्टर्डको दोश्रो बजारमा प्रतिकित्ता ५१५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । स्ट्याण्डर्ड चार्टर्डले पनि गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेको छैन । 

* यसअघिको समाचारमा 'एनआइसी एशिया बैंकले विगत २ वर्षदेखि लाभांश नबाँड्दा'मा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । 
-सम्पादक