काठमाण्डौ । विश्वका शीर्ष ५ धनाढ्यको सम्पत्ति ४ वर्षको अवधिमा दुई गुणाभन्दा बढीले वृद्धि भएको छ ।

अक्सफामको आइतबार सार्वजनिक भएको वार्षिक असमानता प्रतिवेदनका अनुसार सन् २०२० देखि अहिलेसम्म विश्वका ५ धनाढ्यको सम्पत्ति ११४ प्रतिशतले वृद्धि भएको हो । प्रतिवेदनका अनुसार यो अवधिमा ५ जना धनाढ्यको सम्पत्ति ८६९ अर्ब डलरले बढेको हो ।  
यदि यहि गतिमा सम्पत्ति बढ्दै जाने हो भने एक दशकमा पहिलोपटक यो रकम १ ट्रिलियन डलर पुग्ने जनाइएको छ । 

एकातिर धनाढ्यहरुको सम्पत्ति वृद्धि भइरहँदा अर्कोतर्फ करिब ५ अर्ब मानिसहरु महंगी,युद्ध र वातावरण संकटका कारण गरिब बनेका छन् । वर्तमान अवस्था रहिरहने हो भने विश्वबाट गरिबी उन्मुलन गर्न झण्डै २३० वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । 

असमानताको कालो बादलबीच केहि मात्रामा चाँदीको घेरा देखिएको अक्सफाम अमेरिकाको आर्थिक तथा न्याय निर्देशक नबिल अहमलले बताएका छन् । कामदारहरुले असमानता कम गर्न र न्यायसंगत ज्यालाका लागि विश्वभर आन्दोलन,बन्द हडताल जस्ता क्रियाकलाप गर्ने गरेका छन् । केहि देशका सरकारहरु कामदारको पक्षमा रहेको र कामदारको अधिकारलाई मजबुती प्रदान गर्ने उदेश्यले नीति निर्माणमा लागिरहेका छन् । 

सन् २०२० देखि २०२४ सम्मको अवधिमा दुई गुणाले सम्पत्ति वृद्धि हुनेमा एलन मस्क,बर्नाड आर्नल्ट,जेफ बेजोस,ल्यारी एलिसन र वारेन बफेट छन् । 

चार वर्षको अवधिमा सबैभन्दा धेरै धन आर्जन गर्नेमा एलन मस्क रहेका छन् । मस्कले विश्वभर विभिन्न कम्पनीहरु सञ्चालन गरिरहेका छन् । यसमा टेस्ला र स्पेस एक्स जस्ता ठूला कम्पनीहरु समावेश छन् । सन् २०२० मार्चदेखि गत नोभेम्बरको अन्त्यसम्ममा मस्कको सम्पत्ति ७३७ प्रतिशत अर्थात २४५.५ अर्ब डलरले वृद्धि भएको छ । 

त्यस्तै फ्रान्सेली लक्जरी सामाग्री एलभीएमएचका अध्यक्ष बनार्ड आर्नल्ट र उनको परिवारको सम्पत्ति पनि यो अवधिमा १११ प्रतिशत अर्थात १९१.३ अर्ब डलरले बढेको छ । 

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २४ प्रतिशत अर्थात १६७.४ अर्ब डलरले बढेको छ । यसैगरी ओर्याकलका संस्थापक ल्यारी एलिसनको सम्पत्तिमा १०७ प्रतिशत अर्थात १४५.५ अर्ब डलरको उछाल आएको छ । 

प्रतिवेदनका अनुसार यो अवधिमा वर्कसायर हाथवेका सीईओ वारेन बफेटको सम्पत्ति ४८ प्रतिशत अर्थात ११९.२ अर्ब डलरले वृद्धि भएको छ । 

सन् २०२० देखि समग्रमा विश्वका सबै धनाढ्यको सम्पत्ति भने ३४ प्रतिशत अर्थात ३.३ खर्ब डलरले बढेको छ । जुन मुद्रास्फीतिको तुलनामा तीन गुणा धेरै हो । -एजेन्सी