काठमाण्डौ । हिन्दुहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ। 

राष्ट्र बैंकले काठमाण्डौ बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको हो। प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक–एक थान असर्फी बिक्री–वितरण गर्न थालिएको टक्सार विभागका प्रमुख विनोदराज आचार्यले जानकारी दिए। ‘आवश्यकता हेरेर कम वा बढी पनि गर्न सकिन्छ’, उनले भने।

यसपालि धन्तेरसका लागि ५ हजारभन्दा बढी सिक्का बिक्री हुन सक्ने आचार्यले बताए। सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको विभागले जनाएको छ।

विभागका अनुसार असर्फी व्यक्ति वा संस्था दुवैले खरिद गर्न सक्छन्। व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ। संस्थाको हकमा भने प्रतिग्राम ३०० रुपैयाँ थप गरिएको विभागले जनाएको छ।