-भक्तराज रसाइली
धरान । शनिबार बैंक बिदा भए तापनि सिद्धार्थ बैंक धरान शाखाका प्रबन्धक दीपककुमार थापा लगायतका टिम साबिक धरान २३, हाल धरान ६ पानमारीका घरघर धाइरहेका थिए । विदाको  समयमा पनि उनीहरु त्यस क्षेत्रका घर घरमा गएर सेयरको डिम्याट खाता, सिआस्वा प्रणाली, बैंकिङ्ग चेतना र सेवा लगायतका बिषयमा जानकारी दिइरहेका भेटिए ।

धरान ६ स्थित पानमारीका कपडा पसल, वर्कसप, भाडापसल, होटल, सर्वसाधारणका दैलो दैलोमा गएर सेवा र सचेतता फैलाउन बिदाको दिनको सदुपयोग गरेको शाखा प्रबन्धक थापाको भनाई छ । 

गाउँघरमा महङ्गो ब्याजदरमा ऋण लिएर व्यवसाय गर्न भन्दा सिद्धार्थ बैंकले सर्वसुलभ ब्याजका दरमा दिइरहेको र बचतमा ७ प्रतिशतसम्म ब्याज प्रदान गरिएको थापाले सो ठाउँमा रहेका व्यापारी  र सर्वसाधारणलाई बुझाइरहेका थिए 

एक मोटरसाइकल वर्कसपमा बैंकिङ्ग कारोबार गर्दा आफ्नो व्यवसायको स्तरमै परिवर्तन हुने र सहजताका लागि सहयोग पुग्ने सो क्रममा थापाले दाबी गरे ।  

सिद्धार्थ बैंक धरानको टोली मोरङ्गको केराबारी गाउँपालिका अन्तर्गत डाँगी भन्ने ठाउँमा जाँदा त्यहाँ न कुनै सहकारी, न कुनै बैंकका शाखा नपुगेको देखेर शाखा प्रबन्धक थापाले बैंकको शाखा खोल्न पहल गरिने त्यहाँका स्थानीयलाई आश्वासन पनि दिएका थिए ।

सोही ठाउँमा प्रत्येक घरबाट एक व्यक्ति कोरिया गएको र बचतका लागि कुनै बैंक नभएको गुनासो गाउँलेहरुले पोखेका थिए । डाँगीमा हार्डवेयर, किराना पसल संचालक, कृषकहरुलाई आवश्यक पर्ने ऋण र बचतका लागि बैंकको शाखा आवश्यक रहेको स्थानीय व्यवसायीको भनाई थियो ।

पछिल्लो समयमा बैंकहरुले सबै स्थानीय तहमा बैंक शाखा  पुर्याउनुपर्ने नीति रहेको र अझै पनि पूर्वाधारको अभावमा केही कठिनाइहरुका कारणले गाउँ गाउँमा बैंक नपुगेको जानकार बताउँछन् ।