काठमाण्डौ । बीमितले आफ्नो सम्पत्तिको बीमा गर्दा विशेष ध्यान पुर्‍याउनु पर्दछ ।

कतिपय संस्थाहरुले धरौटी तथा धितोबन्धक लिएका सम्पत्तिको समेत बीमा गरेका हुन्छन् । यस्तो अवस्थामा बीमित वा धरौटी लिने संस्थाले प्रस्ताव फारम भर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । 

नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०८० बमोजिम धितोबन्धक वा धरौटी सम्बन्धी व्यवस्था अन्तर्गत बीमित वा धरौटी लिने संस्थाले प्रस्ताव फारम भर्नुपर्नेछ । तर धरौटी लिने संस्थाले प्रस्ताव फारम भरिसकेको छ भने प्रस्ताव फाराम भर्नुपूर्व बीमितलाई भने अनिवार्य लिखित जानकारी गराएको हुनु पर्नेछ । 

साथै धितोबन्धक वा धरौटी राखिएको सम्पत्तिको बीमालेख बीमित तथा बीमा गरिने सम्पत्तिको धितोबन्धक वा धरौटी लिने संस्थाको संयुक्त नाममा जारी गर्नुपर्नेछ । प्राधिकरणका अनुसार धरौटी राखिएको सम्पत्तिको दाबी वापतको रकम धरौटी लिने संस्थालाई नै प्रदान गरिनेछ ।

साथै दाबी रकमको सम्बन्धमा धितोबन्धक वा धरौटी लिने संस्थाले बीमितसँग आफ्नो हिसाब फरफारक गर्नुपर्नेछ र फरफारक भए नभएको यकिन गरी बीमा कम्पनीले सो को प्रमाणपत्र राख्नुपर्नेछ । 

त्यस्तै, बीमा सम्बन्धमा कुनै जानकारी वा सूचना आदानप्रदान गर्नुपरेमा धितोबन्धक वा धरौटी लिने संस्थालाई जानकारी वा सूचना आदानप्रदान गरेमा बीमितलाई सूचना गरे सरह मानिने प्राधिकरणले जनाएको छ । 

बीमा दाबी सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा धितोबन्धक वा धरौटी लिने संस्थाले गरेको कानूनी प्रक्रिया बीमा कम्पनी वा बीमित दुबैलाई मान्य हुनेछ ।