-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सन्नाटा, निराशा र झिनो आशा बोकेका मलिन अनुहारहरु । मनभरि पीर–व्यथा लुकाएरै भए पनि हामी ब्रोकर हाउसमा पुग्दा फिस्स हाँस्थे लगानीकर्ता । कहालीलाग्दा ऋणका पीडाहरु, घरखेत जान लागेका अत्यासलाग्दा अपडेटहरु कतिपयले खुलेर भन्थे भने कतिपय लुकाएरै भए पनि बजारको विषयमा सकारात्मक धारणा राख्थे । 

लगभग यस्तै दैनिकीबाट लगानीकर्ताले करिब ३० महिना भनेसम्मको सकस भोगे । घरपरिवारको अविश्वास, बैंकहरुबाट आउने मार्जिन कलको दवाब, साथीभाईबाट हुने हेपाहाव्यवहार शैली । यस्ता अनेकन बाधा–अवरोधहरु भोगेर, पचाएर, लड्दै, धूलो टकटक्याएर पुनः उठ्दै अगाडि बढ्दै चट्टानजस्तै बनेका लगानीकर्ताहरुमा आइतबार भने उत्साह देखियो । 

निकै लामो कालोरातको कालो कोठरीबाट बाहिर निस्किएर घाम देखेको मानिस झै आईतबारको ग्राउण्ड जिरोका क्रममा विभिन्न ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता थोरै भए पनि प्रफूल्ल देखिए । बजार एकाएक बुम भएपछि उनीहरुको अनुहारमा खुशी र उत्साह दुवै देखिन्थ्यो । कतिपयमा भने अझै द्वीविधामिश्रित खुशी छचल्किरहेको भान हुन्थ्यो । ‘आजको बजारको उछालको गति टिक्छ या टिक्दैन ? बढोत्तरी यात्रा कति दिगो होला ?’ यस्तै–यस्तै सशंयकाबीच लगानीकर्ताले खुशी मनाए । ३० महिनादेखिको मनभरिको पीडा दिल खोलेर फुकाए र ब्रोकर हाउसमा नाचे, रमाए, उफ्रिए, आपसमा मिठाई बाँडेर खुशी मनाए । 

अघिल्लो साता राष्ट्रबैंकको म्रौद्रिक नीतिको  समीक्षा र त्यसपछि केही बैंकहरुले ब्याजदर घटाएपछि आज बजारमा उछाल आउने छनक बिहानैदेखि सामाजिक सञ्जालमा छाताछुल्ल देखिन्थ्यो । केहीले विहानै  ‘बुल मर्निङ’  भन्दै थिए भने केहीले बजारमा बियरिस यात्रा सकिएको बताउँदै थिए ।

आज हामी सबैभन्दा पहिले बिहान ११ नबज्दै मल्ल एण्ड मल्ल सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ११) मा पुग्यौं । आज प्रि–ओपनमा नै बजार बढेर खुलेको थियो । ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो भने फोनका घण्टी अरुबेलाभन्दा बढी नै बज्न थालिसकेको थियो । लगानीकर्ताहरुले अघिल्लो साताको म्रौद्रिक नीतिको समीक्षाको चर्चा गर्दै थिए । केही लगानीकर्ता अघिल्लो साता सबै सेयर बेचेकोमा पछुतो मान्दै थिए । यत्तिकैमा बजार खुलेको पाँच मिनेटमा नै पहिलो सर्किट लाग्यो । बजार २० मिनेटका लागि बन्द भयो । 

धेरै समयपछि बजारमा सकारात्मक सर्किट लागेका कारण लगानीकर्ताहरु दङ्गदास थिए । बजार अब २२ सय त निकै सहज ढङ्गले पुग्ने बताउँदै थिए । ब्रोकरहाउसमा लगानीकर्ताहरुमा निकै खुसियाली थियो । एक लगानीकर्ताले भन्दै थिए–‘बजार बढ्छ त भन्ने थियो तर यसरी उछालको गतिमा बढ्ला भन्ने थिएन।’

केही समयको बसाईपछि हामी कोहिनूर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार बढेकोमा मख्ख थिए । लगानीकर्ताहरुमा बजार घटेर निक्कै तल्लो विन्दुमा पुगेकोले अब सेयर नै नपाउला भन्नेसम्मको चिन्ता देखियो । ‘बजार बेस्सरी घटेको छ । माइक्रो फाइनान्स धेरै घटेको छ । अब बढ्ने नै माइक्रो फाइनान्स हो ।’ त्यहाँका एक लगानीकर्ताले दाबी गर्दै भन्दै थिए । 

यत्तिकैमा चार प्रतिशत बढेर सर्किट लागेको बजार २० मिनेटपछि पुनः खुल्यो । उछालको गति रोकिएन । केही मिनेटमै पुनः सर्किट लगाएर बजारको कारोबार स्थगित गर्नुपर्ने आपत आईलाग्यो । 

केही समयको बसाइँपछि हामी धेरै लगानीकर्ताको भीडभाड हुने नयाँ ब्रोकरहाउस क्यापिट्ल म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । 

त्यहाँ पुग्दा दोस्रो सर्किट लागेर बन्द भएको बजार पुनः सुचारु भइसकेको थियो । यो ब्रोकरमा त लगानीकर्ता झनै उत्साहित थिए ।

कारोबार खुलेको केही मिनेटमै बजार बन्द भयो । यहाँका लगानीकर्ताहरु कोही खुसीले नाच्दै थिए भने कोही आपसमा लड्डू बाँड्दै उनीहरुकै भाषामा ‘नेप्सेको नयाँ बुल’लाई न्यानो स्वागत गर्दै थिए । 

त्यहाँ भेटिएका एक लगानीकर्ता पुरुषोत्तम कँडेलले बिजशालालाई संक्षिप्त प्रतिक्रिया दिंदै भने–‘मलाई आज घरबाट हिँड्दा नै बजारमा सर्किट लाग्छ भन्ने थियो । मैले साथीहरुलाई पनि भनेको थिएँ यो कुरा । खासमा बजार २००० तल जानुपर्ने कुनै कारण नै थिएन । मौद्रिक नीतिको समीक्षा र केही बैंकहरुले ब्याजदर घटाउँदा  लगानीकर्ताको मनोबल आज बढेका कारण बजार बुम भयो।’

कँडेलले आजैदेखि बजारको औपचारिक बुलको यात्रा सुरु भएको दाबी समेत गर्न भ्याए । ‘यहाँ हामी सबैले यो हुन्छ भन्ने पहिले नै सोचविचार गरेका थियौं । यो हामीले प्राविधिक रुपमा पनि बुझेका थियौं ।’–उनले दाबी गर्दै थपे । 

त्यसैगरी, यसै ब्रोकरमा भेटिएका अर्का लगानीकर्ता विकास श्रेष्ठले भने आजको बजारमा सर्किट नै लाग्ने आफूले आशा नगरेको बताए । ‘आज प्रिओपनमा नै बजार बढेका कारण मानिसहरुले सेयर बेच्न चाहेनन् । माग उच्च भएको कारण र सप्लाई कम भएको कारण बजार बढेको हो ।’–उनले भने । 

उनको विचारमा सकारात्मक माहौल रहेका कारण बजार निकै नै माथि पुग्नेछ । 

अर्की महिला लगानीकर्ता अञ्जु महर्जनमा आज सर्किट लाग्ने नसोचेको भएतापनि बजार बढ्न्े आशा भने थियो । ब्याजदर पनि घट्दै जाँदा मौद्रिक समीक्षा पनि राम्रै आएको र प्राविधिक पक्ष केलाएर कारोबार गर्ने गरेको बताइन् । त्यो वातावरण यहाँ भएकोले पनि आफू क्यापिटल म्याक्समा आकर्षित भएको उनको तर्क रहेको छ ।