काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने लहर छ यतिबेला । यो क्रममा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीसँगै राम्रो सेयर मूल्य भएका माइक्रो फाइनान्स कम्पनीहरुले समेत आफ्ना लगानीकर्तालाई धमाधम लाभांश वितरणको घोषणा गर्न थालेका छन् । 

पछिल्लो समय नेपाल स्टक एक्सचेञ्जमा माइक्रो फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल नै देखियो । वाणिज्य बैंकहरुले लगानी गर्नुपर्ने विपन्न वर्गको कर्जा माइक्रो फाइनान्सले लिएर महंगो ब्याजदरमा लक्षित वर्गमा प्रवाह गर्दा यिनीहरुको आम्दानी समेत ह्वात्तै बढ्यो । तर, आम्दानीको तुलनामा यो वर्ष लाभांश भने निकै कम घोषणा भएको देखिएको छ । 

कसको कति लाभांश ? को फूके, को खुम्चिए ??
हालसम्म ७ वटा माइक्रो फाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये सबैभन्दा बढी किसान माइक्रो फाइनान्सको छ । यो माइक्रो फाइनान्सले बोनस सेयरमा छलांग नै मारेको छ । आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लगानीकर्तालाई ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद सेयर वितरणको घोषणा गरेको छ । यति धेरै बोनस सेयर अहिलेसम्म कुनै पनि अन्य माइक्रो फाइनान्सले घोषणा गरेका छैनन् । 

समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले ४५ प्रतिशत सेयर र २.३६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो कम्पनीले अघिल्लो वर्ष ४३.९१ प्रतिशत बोनस वितरण गरेको थियो । 

स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले लगानीकर्तालाई ३०.४० प्रतिशत सेयर र १.६० प्रतिशत नगद लाभांश समेत गरी कुल ३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । यो कम्पनीले अघिल्लो वर्ष आफ्ना लगानीकर्तालाई ३६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

नेरुडे लघुवित्त विकास बैंक लिमीटेडले २० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले ४४ प्रतिशत सेयर र २.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अघिल्लो वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्थाले यो वर्ष चाहि २५ प्रतिशत सेयर र १.३१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले यो वर्ष १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले यो वर्ष पनि अघिल्लो वर्षको झै १५ प्रतिशत सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

यसरी हेर्दा किसान माइक्रो फाइनान्सका लगानीकर्ता मालामाल भएका छन् भने एनएमबी माइक्रोफाइनान्सले समेत लगानीकर्तालाई अघिल्लो वर्षको तुलनामा राम्रो लाभांश वितरणको घोषणा गरेको छ । 

स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडको लाभांश अघिल्लो वर्ष भन्दा केही खुम्चिएको छ । यस्तै, नेरुडेले समेत अघिल्लो वर्षको तुलनामा यो वर्ष लगानीकर्तालाई उत्साहित बनाउन सकेन । समीट माइक्रो फाइनान्सले चाहि आफ्ना लगानीकर्तालाई यो वर्ष निराश हुन दिएन ।