काठमाण्डौ । नबिल बैंकले आफ्नो ३२ औं वार्षिकउत्सव द्वन्द्वपीडित तथा अपांग समाज नेपाल नामक संस्थामा आश्रित मानसिक र शारीरिक रुपले अशक्त बालबालिका तथा वृद्धवृद्धाहरुका साथमा मनाएको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले दैनिक अत्यावश्यकीय सामाग्रीहरु जस्तै व्हिल चेयर, वाटर डिस्पेन्सर, पि. ई. शिट, तन्ना, खेलकुदका सामाग्रीहरु प्रदान गरेको छ । 

सो कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेल,  निर्देशक दयारामगोपाल अग्रवाल, सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनी तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । 

द्वन्दपीडित तथा अपांग समाज नेपाल सन् २००५ मा स्थापित गैर नाफामूलक सामाजिक संस्था हो, जसले मानसिक र शारीरिक रुपले अपांग भएका बालबालिका तथा वृद्ध–वृद्धाहरुलाई सहारा दिने उद्देश्य बोकेको छ । हाल सो सस्ंथाले ३१ बालबालिका र ७ वृद्धवृद्धाहरुलाई खानापिन, बासस्थान, लत्ताकपडा र स्वास्थ्य सेवा प्रदान लगायत हेरचाह गरिरहेको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले शैक्षिक क्रियाकलाप, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रहरुमा सहायता प्रदान गर्दै विविध सामाजिक कल्याणका लागि निरन्तर प्रतिबद्ध छ ।

बैंकले ५२ वटा शाखाहरुको बृहत सञ्जाल, ९० वटा एटिएमहरुको विशाल संरचना र १,४०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर सम्पूर्ण आर्थिक कारोबारको पहिलो रोजाईको सेवा प्रदायक बन्न सफल भएको छ ।