काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आबद्ध कर्मचारीले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डको नेतृत्व तह र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको आरोप लगाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रियामा मिलेमतो भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायबाट छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

संघका अध्यक्ष नवराज थापा तथा सचिव पुजन ज्ञवालीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा धितोपत्र बोर्ड र ब्यापारिक घरानाको मिलेमतोका कारण दोस्रो बजार समेत प्रभावित भएको उल्लेख छ ।

नयाँ स्टक एक्स्चेञ्ज सञ्चालन गर्नका लागि धितोपत्र बोर्डले केही समय पहिले नै लाइसेन्स दिने प्रक्रिया अघि बढाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि रोकिएको थियो ।
प्रतिनिधिसभाको अर्थ समितिले यसअघि नै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइसकेको छ ।