- मनिष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा लाइसेन्स प्राप्त गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक कारोबार सुरु गरिसकेको छ। 

कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले विशेष कार्यक्रमको औपचारिक रुपमा व्यावसायिक कारोबार सुरु गरेको हो। हाल कम्पनीले म्यादी जीवन बीमा पोलिसीमात्रै बिक्री गरिरहेको छ। 

गत असार २२ गतेदेखि लघुबीमा व्यवसाय सुरु गरेको गार्डियन माइक्रो लाइफले उत्कृष्ट व्यवसाय गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी बताउँछन्। ‘हाललाई औपचारिक रुपमा म्यादी बीमालेख पोलिसीमात्रै बिक्री गरिरहेका छौँ’, उनले भने, ‘भविष्यमा कम्पनी विस्तारसँगै चलेका प्रोडक्टहरु पनि लन्च गर्ने तयारी रहेको छ।’ 

बीमा प्राधिकरणले तोकेबमोजिम सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, आजीवन तथा अन्य जीवन बीमा योजनाहरु बिक्री गर्न पाउने प्रावधानअनुरुप कम्पनीले हाललाई म्यादी बीमालेख स्वीकृत गराई बिक्री थालेको सीईओ भण्डारीले बताए। ‘भविष्यमा धनफिर्ता बीमा योजनासमेत ल्याउने तयारी रहेको छ’, उनले भने, ‘अहिलेलाई वेबसाइटमार्फत प्रचारको मात्रै काम भइरहेको छ।’ 

कम्पनीले बीमितको सहजतालाई मध्यनजर गर्दै वेबसाइट र एपबाटै पोलिसी खरिद गर्न सकिने सुविधा पनि रहेको भण्डारीले बताए। 

कम्पनीका अनुसार बीमितहरुले ५ लाख रुपैयाँको म्यादी जीवन बीमालेख खरिद गर्दा वार्षिक १ हजार २०० रुपैयाँदेखि १ हजार ६०० रुपैयाँसम्म मात्रै प्रिमियम तिनुपर्नेछ। यस हिसाबमा जोकोहीले पनि सहजै बीमालेख खरिद गर्न सक्ने सीईओ भण्डारीको तर्क छ। 

बीमा क्षेत्रमा लघुबीमा व्यवसाय सुरु गर्ने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स पहिलो कम्पनी हो। बीमाको पहुँच नपुगेको कारणले अप्ठ्यारोमा परेकाहरुको बीचमा गार्डियन माइक्रो लाइफले सहज ढंगबाटै लघुबीमा सेवा पुर्याउने सीईओ भण्डारी बताउँछन्। 

कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको छ।