काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ वटा जीवन बीमा कम्पनीले मात्रै ४ अर्ब ३३ करोडभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । 

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत वर्षको तुलनामा भने ९.९८ प्रतिशतले घट्नको छ । गत वर्षको भदौ महिनामा ती कम्पनीहरुले नयाँ व्यवसायमार्फत ४ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । 

गत वर्षको तुलनामा ती कम्पनीहरुमध्ये नेपाल लाइफ र आइएमई लाइफको मात्रै नयाँ व्यवसाय बढेको छ, भने बाँकी सबै कम्पनीको व्यवसाय खस्किएको छ ।

भदौ महिनासम्म सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले नयाँ व्यवसायमार्फत १ अर्ब ८ करोड रुपैयाँ प्रिमियम भित्र्याएको छ । 

त्यस्तै, नेशनल लाइफले ५५ करोड ६३ लाख, सुर्यज्योति लाइफले ३३ करोड ८५ लाख, हिमालयन लाइफले ३३ करोड ५५ लाख, एलआइसी नेपालले ३१ करोड ८१ लाख रुपैयाँ फर्स्ट प्रिमियम कलेक्सन गरेका छन् । 

गत वर्षको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याउने प्रगति गर्नेमा आइएमई लाइफ रहेको छ ।

कम्पनीले गत वर्षको यसै अवधिसम्म १३ करोड ३८ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम भित्र्याएकोमा यस वर्ष ६०.३३ प्रतिशतले बृद्धि गरी २१ करोड ४६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

 त्यस्तै, नेपाल लाइफले पनि १४.५२ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । बाँकी १२ वटै जीवन बीमा कम्पनीको नयाँ व्यवसाय गत वर्षको तुलनामा खस्किएको छ ।