काठमाण्डौ । डिजीटल बैंकिङमा अभ्यस्त बन्दै गरेको युवा पुस्ता । यो पुस्ताको फेरिएको काम गर्ने शैली र माध्यम । पुरानो पुस्ताले समेत बिस्तारै डिजीटल संसारलाई बुझ्दै गएको अवस्था । एउटा छोटो भिडियोमा यस्ता थुप्रै सन्देशहरु समेटिने गरी नवील बैंकले बनाएको सन्देशमूल भिडियो निकै मन छुने खालको छ ।
नवील बैंकले बुबाको मुख हेर्ने दिनको अवसर पारेर ३ मिनेट २३ सेकेण्डको भिडियो सार्वजनिक गरेको छ । जुन भिडियोमा डिजीटल बैंकिङदेखि बाबुछोराबीचको मायाप्रेमलाई समेत निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
यो भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै झण्डै डेढलाख बढी भ्यूज पाइसकेको छ । सन्देशमूलक र निकै मन छुने खालको भिडियो भएकोले यसलाई धेरैले मन पराएका छन् ।
भिडियोमा एउटा परिवारको कथा देखाइएको छ । बुबा, आमा र छोराबीचको वार्तालापबाट सुरु भएको भिडियोमा छोराले हतार गर्दै खाना खाइरहेका हुन्छन् । आमाले भन्छिन्–‘कति हतार गरिराखेको ? बिस्तारै खा न बाबु ।’
छेउमै रहेका बुबाले थप्छन्–‘फुर्सद कहाँ छ उहाँलाई ? साथीभाईसँग भेट्न जानुपर्ने होला नि ।’
छोरा केही बोल्दैनन्, हतार हतार खान खाइसकेपछि हात पुछेर आफ्नो अनलाइन जब इन्टरभ्यू रहेको भन्दै आफ्नो कोठातर्फ लाग्छन्।
बाबुले थप्छन्–‘जे पनि अनलाइन उहाँको ।’
त्यसपछि छोराले पाइन्ट नलगाई सर्ट र टाई मात्र लगाएर अनलाइन इन्टरभ्यू दिइरहेको दृश्य बुबाले निकैबेर नियाल्छन् र आमातर्फ गएर भन्छन्–‘अब भयो त ! इन्टरभ्यू पनि कट्टु लगाएर दिइरहेको छ ।’
त्यसपछि आमाले बुबालाई सम्झाउँदै भन्छिन्–‘हरे तपाई पनि अनलाइन इन्टरभ्यू हो, माथि मात्र देखिने त हो नि ।’
त्यसपछि बुबाले भन्छन्–‘हो हो । सबै कुरा तिमीहरु आमाछोरालाई मात्र थाहा छ, मलाई त केही थाहै छैन !’
त्यसपछिको दृश्यमा छोराले अनलाइन काम गर्दै गरेको र बुबाले त्यसलाई निकै राम्रोसँग नियालेर खुशीभाव प्रकट गरेको देखिन्छ ।
आमाले आफ्ना छोरालाई खाना खान आउ न भनेको दृश्य त्यसपछि देखिन्छ । आमाले भन्छिन्–‘कति ढिला गरिरहेको बाबु ?’
त्यसपछि बुबाले भन्छन्–‘काम गरिरहेको मान्छेलाई किन बोलाइराखेको ? आइहाल्छ नि एकछिनमा ।’
त्यसपछि हतारिएर छोरा भान्सामा आउँछन् र ‘ममी पस्किहाल्नु त एउटा मिटिङ छ फेरि’ भन्छन् । ‘बुबाले खानुभयो ?’ भनेर छोराले सोध्छन् । आमालाई फेरि सोध्छन्–‘बुबा रिसाउनुभयो होला है ?’
आमाले सम्झाउँदै भन्छिन्–‘कहाँ रिसाउनु ? काम गरिरहेको मान्छेलाई किन बोलाएको भनेर उल्टै मलाई कराउनु भयो । हिजो त मलाई अझ मोवाइल पनि धेरै नचलाउनु रे ! काम गर्ने मान्छेलाई नेट स्लो हुन्छ रे !’ यो संवादमा बुबाले आफ्नो डिजीटल जागिरलाई बिस्तारै बुझ्दै गएकोमा छोराको मुहारमा खुशी समेत देखिन्छ ।
त्यसको एक महिनापछि आमा र बुबाले एउटा गिफ्ट तयार गर्छन् र छोरालाई दिन भनेर एकअर्कालाई भन्छन् । बुबाले भन्छन्–‘तिमीलाई धेरै माया गर्छ छोराले । तिमी नै देऊ न ।’
त्यसपछि एकाएक छोरा आइपुग्छन् र ‘कसलाई के दिनुपर्ने ? खोइ ल्याउनु म दिन्छु’ भन्दै गिफ्ट लग्छन् । त्यसपपछि छोराले सोध्छन्–‘कसले पाउनुपर्ने यो ?’
आमाले भन्छिन्–‘जसले पाउनुपर्ने, उसले पाइसक्यो ।’
त्यसपछिको माहौल केही भावनात्मक देखिन्छ ।
छोरा केही गम्भीर मुद्रामा बोल्छन्–‘आज बुबाको मुख हेर्ने दिन हो, गिफ्ट त मैले पो बुबालाई दिनुपर्ने त ।’
बुबा केही सेन्टिमेटल भएर बोल्छन्–‘बाबु, तैले आफ्नो जिम्मेवारी बुझिस् । मेरो लागि यही नै ठूलो गिफ्ट हो ।’
बुबा र छोराबीचको मायाप्रेमको दृश्यपछि बुबाले जिस्किदै भन्छन्–‘अबदेखि मिटिङमा जाँदा चाहिँ फूल पाइन्ट लगाएर जाने है !’
केहीबेर हाँसो चल्छ ।
त्यसपछि बुबाले छोरालाई तलब आयो त ? भनेर प्रश्न सोध्छन् । छोराले ‘त्यही भन्नलाई त आफू त्यहाँ आएको’ जवाफ दिन्छन् ।
बुबाले भन्छन्–‘ल त्यो पहिलो तलब खर्च गर्नुअघि भगवानलाई चढाइदे।’
छोराले मोवाइल निकाल्छन् र आफ्नो पहिलो तलब आफ्नै पितालाई अनलाइन ट्रान्सफर गरिदिन्छन् र भन्छन्–‘चढाएँ मैले आफ्नो भगवानलाई ।’
छोराले यसो भन्न नपाउँदै बुबाको मोवाइलमा अलर्ट म्यासेज बज्छ । बुबाले आफ्नो खातामा छोराले पैसा हालिदिएको देख्छन् । त्यसपछिको माहौल निकै भावनात्मक हुन्छ । बाबुछोरा र आमा एउटै अँगालोमा बेरिएर सुखद श्वास फेर्छन् ।
भिडियो अन्त हुँदै गर्दा नवील बैंकको सन्देश बज्छ–‘हाम्रो जीवनलाई अघि बढाउने बाबाको माया गर्ने तरिका फरक हुनसक्छ । तर, माया भने कहिल्यै कम हुँदैन ।’
यसरी नवील बैंकले छोटो भिडियोमा नेपाली समाज पनि डिजीटलाइज्ड हुँदै गएकोदेखि लिएर आमाबुबा र छोराछोरीबीचको प्रगाढ मायालाई समेत समेटेको छ । आफ्ना आमाबुबा सन्तानका लागि साक्षात भगवान् हुन् भन्ने सन्देश समेत प्रवाह गर्ने सफलता पाएको देखिन्छ । बुबाको मुख हेर्ने दिन बुबाको महत्वदेखि डिजीटल कारोबारको महत्वसम्मलाई छर्लङ्गै बुझाउन नवील बैंक सफल भएको देखिन्छ ।
नवील बैंकले गत दशैंमा समेत यस्तै भिडियो सार्वजनिक गरेको थियो । त्यो भिडियोको समेत सर्वत्र प्रशंसा भएको थियो । भिडियोले लाखौं भ्यूज पाएको थियो । नवीलको त्यही भिडियोपछि नेपालका कतिपय अन्य बैंकहरुले पनि भिडियोमार्फत सन्देश प्रवाह गर्ने र त्यस्तै भिडियो बनाएर ब्राण्डिङ गर्ने रणनीति अख्यितार गरेका देखिन्छ ।
भिडियो यहाँ छ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago