काठमाण्डौ । निजी क्षेत्रको टप बैंक नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ३५ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । 

नवील बैंकले विगत केही वर्षदेखि नै लगातार उच्च लाभांश क्षमतासहित अधिकांश सूचकहरुमा राम्रो प्रगति गर्दै आएको छ । समीक्षा अवधिमा समेत नवीलको प्रगति जारी रहेको देखियो । 

यो अवधिमा नवीलले ३ अर्ब १८ करोड ४६ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा खूद नाफा ४ अर्ब २९ करोडको उचाईमा पुगे पनि नियामकीय व्यवस्थाका कारण वितरणयोग्य मुनाफा चाहि ३.१८ अर्बमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्षको यही अवधिमा नवील बैंकको नाफा ३ अर्ब ९८ करोड रुपैयाँमा सीमित थियो । नवीलले नाफातर्फ ७.८४ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

अघिल्लो वर्ष ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६ अर्ब ८ करोडको उचाईमा पुगेको छ भने ६ अर्ब २६ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ३३ करोड पुगेको छ । 

अघिल्लो वर्ष ३ अर्ब २५ करोडमा सीमित रिटेन अर्निङ ३ अर्ब ३७ करोड मात्र रहेको छ भने रिजर्बको आकार ९ अर्ब २८ करोड रहेको छ । 

समीक्षा अवधिमा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ४९.५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष सामान्य घटेर ४७.६५ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात ०.७४ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ६.१३ प्रतिशत र आधार दर ८.०९ प्रतिशत रहेको छ ।