काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले नेपालमै पहिलोपटक आजीवन डिम्याट खाताको योजना सार्वजनिक गरेको छ।

यो स्किममा सहभागी भई हितग्राही खाताहरु एकपटक खोलिसकेपछि आजीवन नवीकरण गरिरहने झञ्झट पर्नेछैन । 

'नेपालमा रहेको विद्यमान व्यवस्थाअनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नबिकरण गराउनुपर्ने भएकोले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको अनलाइन पोर्टलहरुबाट नबिकरण हुँदै आएको छ । जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्ने देखिएको छ ।' आफ्नो नयाँ स्किमबारे नवील इन्भेष्टमेन्टले विज्ञप्ति जारी गर्दै भनेको छ-'जसले गर्दा विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नबिकरण गराउन असमर्थ भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै यस कम्पनीले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाईलाई यस्तो झञ्झटबाट मुक्त गराउने उद्देश्यले नेपालमै पहिलो पटक आजिवन डिम्याट खाताको योजना यही पौष २६, २०७७ देखि लागू हुने गरी ल्याएको छ ।'

यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक रु. ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झञ्झटबाट मुक्त हुन सक्नेछन् । यस्तो योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्ने, तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नबिकरण वापतको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ । 

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ लगानीकर्ताहरुले एकैपटक एकमुष्ट रकम जम्मा गरी जीवनभरका लागि खाता नबिकरणको झन्झटबाट मुक्त भई लिनसक्ने आशा गरिएको छ ।