काठमाण्डौ । बैंकिङ उद्योगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १९ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

विभिन्न नियामकीय व्यवस्था र प्रभिजनिङको कडाई लगायतका व्यवस्थाले बिषम भनेको परिस्थितिका बाबजुद नवीलले अन्य बैंकको तुलनामा निकै राम्रो वितरणयोग्य मुनाफा आर्जन गर्ने सफलता पाएको हो । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ११ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा नवील बैंकको खूद नाफा १ अर्ब ३ करोड रहेको थियो । 

अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ४८ करोड रहेको संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ५८ करोड माथि पुगेको छ भने व्यवसाय वृद्धिमा आक्रामक बनेको परिणामस्वरुप खूद ब्याज आम्दानी १ अर्ब ५७ करोडबाट बढेर २ अर्ब २४ करोडको उचाईमा पुगेको छ । यसरी बैंकले खूद ब्याज आम्दानीलाई अघिल्लो वर्षको समान अवधिको तुलनामा ४२.४० प्रतिशतले बढाएको छ। बैंक ब्याज आम्दानीलाई अघिल्लो वर्षको तुलनामा झण्डै १ अर्बले बढाउने सफलता पाउँदा यस्तो अवस्था बनेको देखिन्छ । 

अघिल्लो वर्ष १५ अर्ब २ करोड रहेको रिजर्बको आकार बढेर यो वर्ष १५ अर्ब ६२ करोड माथि पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब २५ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिको अन्तसम्ममा बैंकको सीडी रेसियो ८८.६४ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ३९.९४ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) समीक्षा अवधिमा केही घटी ३२.११ रुपैयाँमा सीमित बन्न पुगेको छ भने ०.६५ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर १.१३ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड समेत केही बढेर ५.१५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो लागत ४.९९ प्रतिशत थियो । 

आधार दर ६.६१ प्रतिशत रहेको छ भने पीई रेसियो ४६.११ गुणा, प्रतिसेयर नेटवर्थ २४७.३१ रुपैयाँ र तरलता अनुपात २३.१६ प्रतिशत रहेको छ ।