काठमाण्डौ । दोश्रो बजारमा मूल्यका हिसाबले ‘टप फोर’ वाणिज्य बैंकको रुपमा स्थापितमध्ये ३ वटाले लाभांश घोषणा गरिसकेका छन् ।

चारमध्ये एउटा बैंक, नवीलले भने लाभांश घोषणा गर्न बाँकी छ । 

लामो समयदेखि नेपाली सेयर बजारको हटकेक स्क्रिप्टको रुपमा रहँदै आएको नवील बैंकले घोषणा गर्ने लाभांशको विषयमा लगानीकर्तामाझ व्यापक चासो देखिन्छ । 

दोश्रो बजार मूल्यका हिसाबले लिडर बैंकको रुपमा रहेको एनआइसी एशिया बैंकले २९ प्रतिशत बोनस सेयरसहित कुल ३०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारणसभाबाट समेत पारित गरिसकेको छ । 

एभरेष्ट बैंकले समेत २०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । 

सेयर मूल्यका हिसाबले टप फोरमा पर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि हालै १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । 

लगानीकर्ताहरु भने लामो समयदेखि निकै लोभलाग्दो लाभांश इतिहास बनाएको नवील बैंकको विषयमा बढी चासो दिइरहेका छन् । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार नवील बैंकले योपटक १४ प्रतिशत हाराहारीमा मात्रै लाभांश वितरण गर्नसक्छ । तर, तत्कालीन नेपाल बंगलादेश(एनबी) बैंकलाई निकै सस्तो स्वाप रेसियोमा अक्वायर गरेका कारण नवीलसँग पर्चेज गेनको निकै ठूलो रकम रिजर्भमा रहेको छ । रिजर्भमा रहेको यो रकमबाट समेत सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ । 

नवील बैंकस्थित उच्च स्रोतकाअनुसार गत वर्षको वासलात स्वीकृतिका लागि राष्ट्रबैंकमा पुगिसकेको छ । हाल राष्ट्रबैंकले नवील बैंकको ब्यालेन्ससिट अध्ययन गरिरहेको छ । 

राष्ट्रबैंकस्थित अर्को एक स्रोतकाअनुसार नवील बैंकको ब्यालेन्ससिट चाँडै अप्रूभ हुनेछ । यसको अर्थ नवीलले तिहारअघि नै लाभांश घोषणा गर्नेछ ।

कति आउला लाभांश ? 
बैंकका एक उच्च अधिकारी
काअनुसार बैंकले घोषणा गर्ने लाभांशको विषयमा अहिले नै यति नै भन्न सकिने अवस्था छैन । 

ती अधिकारीकाअनुसार सरकारले एफपीओ जारी गर्दा र मर्जरको क्रममा प्राप्त ‘पर्चेज गेन’बापत निकै ठूलो रकम कर तिर्नुपर्ने भनी घोषणा गरेको र त्यसविरुद्ध बैंकहरु अदालतको शरणमा पुगेकाले यो विषयको निर्णय (आदेश)ले नवीलले घोषणा गर्नसक्ने लाभांश प्रभावित हुनसक्छ । 

कर तिर्नैपर्ने अवस्था भए नवीलले १४ प्रतिशत हाराहारीमा मात्र लाभांश घोषणा गर्नसक्छ । तर, त्यसमा कुनै सहजता हुने संकेत प्राप्त भएमा बैंकले आफ्नो लाभांशको गर्विलो इतिहासलाई नै निरन्तरता दिनसक्नेछ । 

यस्तो छ लाभांश इतिहास
नवील बैंकले आर्थिक वर्ष २०७३-७४ मा ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४-७५ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत, आर्थिक वर्ष २०७५-७६ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत नै, आर्थिक वर्ष २०७६-७७ मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण थियो। 

यस्तै, आर्थिक वर्ष २०७७-७८ मा बैंकले सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण थियो । जसमध्ये ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७८-७९ मा १८.५० बोनस र ११.५० नगदसहित कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।