काठमाण्डौ । नाइजेरियाको कडूनामा ‘गोलभेंडा संकटकाल’ घोषणा गरिएको छ । 

स्थानीय मिडियामा आएको खबरलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार कृषि आयुक्त डेनियल मैजो मेगारले भनेका छन् कि टोम्याटो लिफ माइनर अर्थात टूटा एबसोलुटा नामको किराले नाइजेरियामा लगाइएको टमाटरमध्ये ८० प्रतिशत भन्दा बढी ध्वस्त गरिदिएको छ । 

उनका अनुसार गएको महिना मात्र नाइजेरियाको कडूनाका २ सय किसानलाई गोलभेंडा खेतीबाट मात्र ५१ लाख डलर भन्दा बढीको नोक्सानी भइसकेको छ । गोलभेंडा खेती किराको संक्रमणले ध्वस्त बनाइदिएपछि उत्पादन ठप्प जस्तै भएको र बजारमा गोलभेंडाको भाउ समेत आकाशिएको छ । पछिल्लो तीन महिनाको अवधिमा त्यहाँ एक बास्केट गोलभेंडाको भाउ १.२० डलरबाट बढेर ४० डलरसम्म पुगेको छ । 

नाइजेरियामा संकटकाल घोषणा गर्नुको अर्थ, सो क्षेत्रमा तीव्र गतिमा सरकारले कुनै न कुनै कदम चाल्न खोजिरहेको छ । गोलभेंडा संकटकाल घोषणासँगै नाइजेरियाले एक टिमलाई केन्या पठाएको छ । केन्यामा गएर सरकारले पठाएको टिमले गोलभेंडामा लाग्ने किरासँग कसरी लड्ने र त्यसको समूल नष्ट गरी देशको अन्य भेगको गोलभेंडा खेती कसरी जोगाउने भन्ने बिषयमा धेरै आइडियाहरु सिकेर आउने अपेक्षा गरिएको छ । 

संयुक्त राष्ट्रसंघका अनुसार कडूना, देशको उत्तरी क्षेत्रमा रहेको छ र यहाँ देशमै सबैभन्दा धेरै गोलभेंडा उत्पादन हुन्छ । गोलभेंडा नाइजेरियाका बासिन्दाको खानाको अहम् हिस्सा हो ।