काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही भदौ ७ गतेबाट सुरु हुने भएको छ।

नागबेलीलाई प्राप्ति गरेपछि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। यो प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत साउन २५ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले हिजो भदौ ३ गते अन्तिम स्वीकृत दिएपछि मिर्मिरे लघुवित्तले एकीकृत कारोबारको साइत टुंगा लगाएको हो। 

दुवै वित्तीय संस्थाले गत असार २० गते विशेष साधारणसभा गरेर यो प्राप्ति प्रक्रियालाई टुंग्याएका थिए। यसअघि नागबेली लघुवित्तको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा र मिर्मिरेको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेका थिए। 

अब एकीकृत संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहनेछ। एकीकृत कारोबार सुरु हुने भदौ ७ गते (आइतबार) का दिन भने यो संस्थाका सम्पूर्ण कार्यालयहरुमा कार्यसञ्चालन बन्द हुने पनि संस्थाले जनाएको छ।