काठमाण्डौ । आर्थिक मन्दी र त्यसबाट बैंक तथा वित्त क्षेत्रमा परेको प्रभावले नेपालमा अस्तित्वमा रहेका फाइनान्स(वित्त) कम्पनीहरुको अवस्था झन् झन् नाजुक बन्न थालेको छ । 

थोरै कित्ता सेयरमा खेलाडीहरुले दोश्रो बजारमा सधैं खेलाइरहने र मूल्य अस्वभाविक रुपमा बढाएर सोझालाई फसाउने यस्ता कम्पनीहरुको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण निराशाजनक देखिएको छ । कतिपय वित्त कम्पनी त झन् झन् नाजुक बन्दै गएको समेत तथ्याङ्कहरुले देखाएका छन् । 

निकै कम अर्थात वित्त विवरण सार्वजनिक गरेका १४ वित्त कम्पनीमध्ये ५ वटाले मात्र समीक्षा अवधिका लागि लाभांश बाँड्नसक्ने देखिन्छ, त्यो पनि झिनो मात्र । सबैभन्दा धेरै लाभांश क्षमता मञ्जुश्री फाइनान्सको देखिन्छ, त्यो पनि ८.२२ प्रतिशत मात्र । 

आइसीएफसी फाइनान्सको लाभांश क्षमता ७.८१ प्रतिशत तथा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको त्यस्तो क्षमता ६.६ प्रतिशत देखिएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश क्षमता ५.२७ प्रतिशत देखिएको छ भने गुड्विल फाइनान्सको लाभांश क्षमता २.२५ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

अन्य कुनै पनि फाइनान्स कम्पनीले समीक्षा अवधिका लागि लाभांश बाँड्ने छैनन् । 

यी १४ फाइनान्स कम्पनीमध्ये प्रोग्रेसिभ, रिलायन्स र समृद्धि फाइनान्सको प्रतिसेयर आम्दानी(इपीएस) ऋणात्मक छ । ती तीनै कम्पनी खूद घाटामा गएका छन् । 

वित्त कम्पनीमध्ये तीनवटामा खराब कर्जाको थुप्रो लागेको छ । नेपाल फाइनान्सको खराब कर्जाको अनुपात १२.१६ प्रतिशत छ भने गोर्खाज फाइनान्सको १०.४७ र प्रोग्रेसिभ फाइनान्सको ९.९८ प्रतिशत रहेको छ । 

सबैभन्दा कम मल्टीपर्पोज फाइनान्समा खराब कर्जाको अनुपात ०.७९ प्रतिशत रहेको छ । 

बाँकी सूचकहरु टेबलमा हेर्नुहोस्: