– धर्म मलासी
काठमाण्डौ । उपत्यकामा मंगलबारबाट सुरु भएको गाडी कारोबारको कुम्भ मेला ‘नाडा अटो शो’ मा विभिन्न बैंकले ग्राहकको गाडी चढ्ने सपना सहज रुपमा पूरा गर्न सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने योजनाहरु सार्वजनिक गरेका छन् ।

बैंकहरुले न्यूनतम ९.३९ प्रतिशतदेखि अधिकतम ११.११ प्रतिशत ब्याजदरसम्म गाडीको कुल मूल्यमा ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने योजनाहरु सार्वजनिक गरेका हुन् । नाडा अटो शोमा इलेक्ट्रिकदेखि डिजेल र पेट्रोलबाट चल्ने विभिन्न ब्रान्डका दर्जनाँै दुईपांग्रे र चारपांग्रे गाडीहरु प्रदर्शनमा राखिएका छन् ।

एनआईसी एसिया बैंकले इलेक्ट्रिक र अन्य गाडीमा ९.५ प्रतिशतमा गाडी कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगततर्फ ५० प्रतिशत र संस्थागततर्फ ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ । कर्जाको अवधि १५ वर्ष रहने बैंकले जनाएको छ ।

सबै प्रकारका गाडीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.३९ प्रतिशत ब्याजदरमा अधिकतम ६ वर्षसम्मका लागि र सानिमा बैंकले यस्तो कर्जा १०.४९ प्रतिशत ब्याजदरमा अधिकतम ९ वर्षसम्मका लागि प्रवाह गर्ने योजना सार्वजनिक गरेका छन् ।

नबिल बैंकले इलेक्ट्रिक गाडीमा ९.५९ प्रतिशत र अन्य गाडीमा ११.२१ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले इलेक्ट्रिक गाडीमा ८० प्रतिशत र अन्यमा ५० प्रतिशत कर्जा उपलब्ध गराउने छ । कर्जाको अवधि सबै प्रकारका गाडीमा ७ वर्षसम्मको हुने बैंकले जनाएको छ ।

सिभिल बैंकले भने सबै प्रकारका गाडीमा ११.११ प्रतिशतमा सात वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ ।

गाडी कर्जा सुविधा भने सांग्रिला डेभलपमेन्ट बैंकले ११.६६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ । सातवर्षे कर्जा अवधि राखेको बैंकले व्यक्तितर्फ ५० प्रतिशत र संस्थागत ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ ।

लक्ष्मी बैंकले भने इलेक्ट्रिक गाडीमा ८ वर्षे र अन्य गाडीमा ९ वर्षे कर्जा अवधि तोकेको छ । बैंकले पहिलो तीन वर्षसम्म इलेक्ट्रिक गाडीमा १०.५ प्रतिशतमै र बाँकी पाँच वर्षसम्म भने परिवर्तित आधार दर (बेस रेट) मा १ प्रतिशत जोडेर ब्याजदर निर्धारण हुने जनाएको छ।

यसैगरी लक्ष्मी बैंकले अन्य गाडी कर्जामा पहिलो तीन वर्ष ११.५ प्रतिशत ब्याजदर कायम हुने र बाँकी ६ वर्ष भने बेस रेटमा २ प्रतिशत थप गरेर ब्याजदर कायम हुने जनाएको छ ।

सबै प्रकारका गाडी खरिदमा हिमालयन बैंकले ९.९५ प्रतिशत ब्याजरदरमा ८ वर्षसम्मका लागि कर्जा प्रवाह गर्ने योजना ल्याएको छ। त्यस्तै एभरेस्ट बैंकले ९.६६ प्रतिशत ब्याजरमा ५ वर्षदेखि ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ ।

बैंक अफ काठमाण्डूले ११.४८ प्रतिशत ब्याजदरमा सबै प्रकारका गाडीमा ८ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । बैंकले कुल मूल्यमा इलेक्ट्रिक गाडीमा ८० र अन्य गाडीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडले गाडीको कुल मूल्यमा इलेक्ट्रिक गाडीमा ८० प्रतिशत तथा अन्य गाडीमा व्यक्तिगततर्फ ५० र संस्थागततर्फ ७० प्रतिशतसम्म कर्जा प्रूवाह गर्नेछ । सबै प्रकारका गाडीमा कर्जाको अवधि अधिकतम १० वर्षसम्म र ब्याजदर १०.९९ प्रतिशत रहने बैंकले जनाएको छ ।