काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ३९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो संस्थाको नाफा १ करोड ५५ लाख मात्र थियो । 

व्यवसाय वृद्धिमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ राम्रो वृद्धि भएको छ । अघिल्लो वर्ष ६ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको स्वदेशी लघुवित्तले २०७३/७४ मा  ११ करोड ७५ लाख त्यस्तो आम्दानी गर्न सफल भएको छ । 

यो अवधिमा १ अर्ब २ करोड सापटी लिएर तथा ३४ करोड ११ लाख निक्षेप संकलन गरी १ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो लघुवित्तले ७२ करोड ६३ लाख सापटी लिई तथा १२ करोड ८३ लाख निक्षेप संकलन गरी ७३ करोड ५९ लाख कर्जा प्रवाह गरेको थियो । 

निस्क्रिय कर्जा ०७३/७४ मा बढेर १.२४ प्रतिशतको अनुपातमा आइपुुगेको छ । यो अवधिमा स्वदेशीको वार्षिक प्रतिसेयर आम्दानी ३२.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.६६ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २१४२.०९ र तरलता अनुपात १०.५० कायम भएको छ ।