काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड १८ लाख बढी नाफा कमाएको छ । अघिल्लो वर्ष भन्दा करिब ११ करोडले नाफा बढाएको हो । अघिल्लो वर्ष यो बैंकको नाफा १५ करोड १९ लाख थियो । 

व्यवसाय बिस्तारमा आक्रामक बनेको राष्टिय स्तरको यो विकास बैंकले खूद ब्याज आम्दानीतर्फ पनि निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षमा ३३ करोड १७ लाखमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष ५० करोड ९५ लाखको उचाईमा पुुगेको छ । 

संचालन मुनाफामा झण्डै दोब्बर प्रगति भएको छ । अघिल्लो वर्ष १७ करोड ७० लाख रुपैयाँ रहेको यस्तो मुनाफा बढेर यो वर्ष ३१ करोड ७० लाखको उचाईमा पुुगेको छ । 

ज्योति विकास बैंकले जगेडा कोषको आकार समेत करिब चारगुणाले बढाएको छ । अघिल्लो वर्षसम्म १२ करोड ५८ लाख रहेको जगेडा कोषमा आर्थिक वर्ष २०७३/७४ मा ४६ करोड १४ लाख जम्मा भएको छ । 

यो अवधिमा बैंकले १० अर्ब ५१ करोड निक्षेप संकलन गरी ९ अर्ब १३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ६७ करोड निक्षेप संकलन गरी ६ अर्ब कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १.३९ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर बैंकले ०.७४ प्रतिशतमा झारेको छ । ५ प्रतिशतमा सीमित लागत खर्च चाहि बढेर ७.८२ प्रतिशत पुुगेको छ । यो राम्रो संकेत होइन । 

पूँजी वृद्धिका कारण यो बैंकको प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष १६.४५ रुपैयाँ रहेको यस्तो आम्दानी यो वर्ष घटेर १२.३० रुपैयाँ कायम भएको छ । यस्तै, प्रति सेयर नेटवर्थ १२१.६७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६२८.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.८३ गुणा कायम भएको छ । 

यसैबीच, ज्योति विकास बैंकसँग बिलय हुने प्रक्रियामा रहेको राप्तिभेरी विकास बैंकले समेत चौथो त्रैमासको बित्तीय विवरण बिहीबार नै प्रकाशन गरेको छ । यो बैंकको नाफा भने घटेको छ । अघिल्लो वर्ष १ करोड ६१ खूद नाफा कमाएको यो बैंकले यो वर्ष १ करोड ४७ लाख मात्रै नाफा कमायो । 

खूद ब्याज आम्दानी भने बढेको छ । ३ करोड ५५ लाखमा सीमित यस्तो आम्दानीलाई बढाएर यो वर्ष ४ करोड ७६ लाखको उचाईमा पुर्याइएको छ । यो बैंकको संचालन नाफा समेत घटेको छ । अघिल्लो वर्ष २ करोड ३४ लाख रहेको संचालन नाफा घटेर यो वर्ष १ करोड ९० लाख कायम भएको छ । 

यो अवधिमा बैंकले १ अर्ब ४ करोड निक्षेप संकलन गरी ८५ करोड ९७ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९१ करोड निक्षेप संकलन गरी ७८ करोड ४५ लाख कर्जा परिचालन गरेको थियो । यो विकास बैंकको कस्ट अफ फण्ड डरलाग्दो गरी बढेको छ । अघिल्लो वर्ष ७.८० प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ९.५५ प्रतिशत पुुगेको छ । कस्ट अफ फण्ड बढेकै कारण नाफामा नराम्रो धक्का पुुगेको देखिन्छ । 

बैंकको निस्क्रिय कर्जा अनुपात पनि उस्तै गरी बढेको छ । अघिल्लो वर्ष यो अवधिमा ०.१० प्रतिशतमा सीमित निस्क्रिय कर्जा बढेर यो वर्ष १.०२ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी ९.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.९१ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८९०.२२ रुपैयाँ कायम भएको छ ।