काठमाण्डौ । नेपालमा निक्षेप खाताको संख्या ५ करोड ११ लाख नाघेको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय ग्राहक संरक्षणका लागि राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिकामा विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको उल्लेख रहेको हो। यो तथ्यांक गत असार मसान्तसम्मको हो। यो अवधिमा कर्जा खाताको संख्या १८ लाख ४५ हजार २१३ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

कुल संख्यामध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत असार मसान्तसम्म वालेट प्रयोगकर्ताको संख्या १ करोड ८९ लाख ४१ हजार ७९३ र मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ पुगेको छ। 

हाल १११ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। गत असार मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी र ५७ वटा लघुवित्त संस्था छन्। अघिल्लो वर्ष असार मसान्तसम्म वाणिज्य बैंकको संख्या २६ वटा थियो। मर्जर र प्राप्तिपछि यो संख्या घटेर २० वटामा झरेको हो। 

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या बढेर ११ हजार ५८९ पुगेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म यो संख्या ११ हजार ५२८ थियो। 

गत असार मसान्तसम्म वाणिज्य बैंकको देशभर ५ हजार ४९, विकास बैंकको १ हजार १२८, वित्त कम्पनीको १८४ र लघुवित्त संस्थाको ५ हजार १२८ शाखा सञ्चालनमा छन्।