काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियम मिचेको भन्दै ९ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विभिन्न नियम मिचेको भन्दै बैंक र बैंकका अध्यक्ष, संस्थापक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो।
विभागले प्रभु बैंक, कुमारी बैंक, साबिकको बैंक अफ काठमाण्डू र प्राइम बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले जरिवाना गरेको छ। यी चारवटै बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।
यसैगरी विभागले अन्य कारबाहीअन्तर्गत माछापुच्छ्रे बैंक र सानिमा बैंकलाई कारबाही गरेको छ। जसअनुसार माछापुच्छ्रे बैंकलाई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) (क)अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको विभागले जनाएको छ।
यस्तै सानिमा बैंकलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १९ को उपदफा (७) को उल्लंघन हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) (क)अनुसार बैंकलाई सचेत गराइएको विभागले जनाएको छ।
यस्तै अन्य कारबाहीअन्तर्गत नै साबिक नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, नबिल र प्रभु बैंकलाई विभागले कारबाही गरेको छ।
साबिक नेपाल इन्भेस्टमेन्ट बेंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १५/३/८मा ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीहरुलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुनेजस्ता योजना लागू गर्न पाइने छैन’ भन्ने व्यवस्था भएकोले सोको अनुपालना भएको नपाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा १०० को उपदफा (२) (क)बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको विभागले जनाएको छ।
नबिल बैंकलाई भने नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १९/०७८ (सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था), बुँदा नं. २० कारबाही तथा सजायसम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र.सं. २ मा रहेको ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ७ (फ) उपदफा १(क)बमोजिम सचेत गराइएको विभागले जनाएको छ।
विभागका अनुसार प्रभु बैंकलाई भने अन्य कारबाहीअन्तर्गत नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १२÷०७८ (कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था)को बुँदा १० उपबुँदा २ को (ङ)मा भएको व्यवस्था पालना नगरेको पाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम बैंकलाई सचेत गराइएको छ।
यीमध्ये प्रभु र माछापुच्छ्रे बैंक दुईवटा शीर्षकमा कारबाहीमा परेका छन्। यी सबै बैंकलाई दोस्रो त्रैमासमा प्रथमपटक कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19