काठमाण्डौ । अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ १४ गते अन्तरबैंक ब्याजदर घटेर ४.१६ प्रतिशतमा झरेको छ। गत शुक्रबारसम्म यस्तो ब्याजदर ४.६९ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्ने एक बैंकरले बताए। ‘अर्थात् बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको भन्ने बुझिन्छ’, ती बैंकरले भने। 

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा अन्तरबैंक ब्याजदरसहितका ब्याजदरहरु घट्ने ती बैंकको भनाइ छ। ‘केही समयअघि यस्तो ब्याजदर साढे ८ प्रतिशतसम्म पुगेको थियो’, ती बैंकरले भने, ‘अहिले घटेर ४.१६ प्रतिशतमा झर्नुले सुखद् संकेत गर्छ।’ 

केन्द्रीय बैंकका अनुसार शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। जसमध्ये वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकहरुको कुल ऋण लगानी ४२ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

माघ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ८६.५१ प्रतिशत कायम भएको छ।